चीनको चेतावनी-किन नयाँ दिल्लीमा भनेको ?
बेइजिङले फिलिपिन्सलाई ‘आगोसँग नजिस्किन’ चेतावनी दिएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले हालैको भारत भ्रमणका क्रममा ताइवान जलडमरूमा चीन–अमेरिकाबीच द्वन्द्व भए आफ्नो देश ‘सामेल हुनैपर्ने’ विवादास्पद टिप्पणी गरेपछि चीनले उक्त चेतावनी दिएको हो ।
गतसाता भारतीय फर्स्ट पोस्टसँगको अन्तर्वार्तामा मार्कोसले भनेका थिए, ‘यदि ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच टकराव हुन्छ भने, हाम्रो भौगोलिक अवस्थाका कारण फिलिपिन्स बाहिर बस्ने कुनै तरिका हुँदैन ।’
चीनको आपत्ति र कडा सन्देश
उता चीनको विदेश मन्त्रालयले फिलिपिनो राष्ट्रपतिको अभिव्यक्तिे अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको र यसले क्षेत्रीय शान्ति, स्थिरता तथा जनताको मौलिक हितमा नोक्सानी पुर्याउने दाबी गरेको छ । चीनले ताइवान मामिलालाई आफ्नो आन्तरिक विषय भन्दै आएकाले वाह्य हस्तक्षेपको सँधै विरोध गर्दै आएको छ ।
भू–राजनीतिक पृष्ठभूमि
फिलिपिन्सको भौगोलिक स्थिति ताइवानदेखि करिब १९० किलोमिटर टाढा छ । अमेरिका–फिलिपिन्स रक्षा सन्धि मार्फत् अमेरिका, फिलिपिन्समा सैन्य पूर्वाधार विस्तार गरिरहेको छ । यसले मनिलालाई वाशिङ्टनको सुरक्षा छातामुनि ल्याएपनि चीनसँगको तनाव बढाउने निश्चित छ ।
दक्षिण चीन सागरको छायाँ
दुवै मुलुकबीच दक्षिण चीन सागरका कतिपय टापुको स्वामित्वलाई लिएर परस्पर विरोधी भनाई आउने गरेका छन् । यस्तो संवेदनशील अवस्थामा चीनलाई क्रुद्ध बनाउँदै ताइवानबारे कठोर अभिव्यक्ति दिएकाले थप दुर्घटनाको जोखिम बढाउने विश्लेषकहरु बताउँछन् ।
नयाँ दिल्लीमा यसो भन्नुको कारण
मार्कोसले यस्तो सन्देश भारतको राजधानी नयाँ दिल्लीबाट दिनु संयोग मात्र मान्न नसकिने बताइन्छ । किनभने भारतको पनि चीनसँग सीमा विवाद कायम छ । यस्तो स्थानबाट बोल्दा, चीनविरुद्धको रणनीतिक घेराबन्दीमा फिलिपिन्सले आफूलाई राख्ने संकेत हुनसक्छ ।
कूटनीतिक मञ्चको छनोट
भारत ‘क्वाड’ सदस्य राष्ट्र हो, जसले अमेरिकासँग सुरक्षा समन्वय गर्छ । नयाँ दिल्लीबाट दिएको अभिव्यक्ति वाशिङ्टन र टोकियोतर्फ सीधा सन्देश भएकाले चीनमाथि अप्रत्यक्ष दबाब पनि हुनसक्ने अनुमान छ ।
घरेलु राजनीतिक लाभ
फिलिपिन्सभित्र सुरक्षा नीतिमा दृढता देखाउन उनीमाथि दबाब छ । विदेश भ्रमणको मञ्च प्रयोग गरेर अमेरिकी सुरक्षा सहयोगको भरोसा देखाउने उद्देश्य हुनसक्ने विश्लेषकहरुको भनाई छ ।
मार्कोसको अभिव्यक्ति व्यक्तिगत व्यक्तिगत धारणा नभएर फिलिपिन्सको सुरक्षा–विदेश नीतिको स्पष्ट दिशानिर्देशन भएको स्वतः अनुमान लगाउन सकिन्छ । यदि मनिलाले अमेरिकासँग अझ घनिष्ठ हुँदै चीनको चेतावनीलाई बेवास्ता गरेमा फिलिपिन्स क्षेत्रीय सुरक्षा समीकरणमा ‘फ्रन्टलाइन स्टेट’को भूमिकामा प्रवेश गर्नेछ । यसको नतिजा भावी दिनमा फिलिपिन्सको लागि गम्भीर हानिकारक हुने निश्चित छ ।
टिप्पणीहरू