फेरि छिर्‍यो जेठाे वीरमा माफिया

फेरि छिर्‍यो जेठाे वीरमा माफिया

भनिन्छ नि, ‘जसको शक्ति, उसैको भक्ति ।’ पहुँच भएकाले खुलेआम भ्रष्टाचार गरे पनि उनीहरूलाई कानुनले छुँदैन । न अख्तियारले प्रश्न नै उठाउँछ । शक्तिका आडमा राज्यकोषको दुरूपयोग गर्ने क्रम चलिरहेकै छ । सरकारी निकायको हरेक खरिदमा करोडौँको भ्रष्टाचार हुँदै आएको छ । बिचौलियाको स्वार्थअनुसार अनावश्यक सामानका लागि टेण्डर खुलाउने र कमशल सामान ल्याएर करोडौं खाने प्रवृत्ति सरकारी निकायमा छ ।

त्यसकै एउटा नमुना बनेको छ–वीर अस्पताल । मुलुकको जेठो अस्पताल वीरमा एउटा मेसिन खरिद गर्दा नै करोडौं रुपैयाँँ झ्वाम पारिएको खुलेको छ । गम्भीर कुरा त के भने, करोडौं लगानी गरिएको मेसिनबाट अस्पताललाई नाफा होइन, बर्सेनि ठूलो रकम घाटा भइरहेको छ । अस्पतालले आर्थिक वर्ष २०७४–७५ मा ‘इमेज गाइडेड सिटी स्क्यान इन्टिग्रेटेड रिङ ग्रान्टी बेस्ड रेडिएशन सिष्टम मेसिन’ खरिदका लागि बजेट विनियोजन गरेको थियो ।

त्यतिबेला स्वास्थ्यमन्त्री नेपाली कांग्रेसका महामन्त्री गगन थापा थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति डा. भूपेन्द्र बस्नेत त्यतिबेला अस्पतालका निर्देशक थिए । सो मेसिन खरिदको योजना अख्तियारमा मुद्दा खेपिरहेका मेडिकल बिचौलिया तथा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितको थियो । जसको लागत अनुमान ४० करोड रुपैयाँँ राखियो ।

२०७४ जेठ १९ गते लेखा तथा मूल्यांकन समितिबाट लागत अनुमान स्वीकृत भयो । दुई दिनपश्चात् अर्थात् जेठ २१ गते अस्पतालले मेसिन खरिदका लागि बोलपत्र आह्वान गर्‍यो । लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालि र इस्टवेस्ट कन्सर्न प्रालिले टेण्डर हाल्यो । जसमध्ये लाइफलाइन प्राविधिक चेकजाँचमा पास भयो । ऊविरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । तर, छानबिनमा तदारुकता देखाइएको छैन । सो कम्पनीले २०७४ पुस १५ गतेभित्र मेसिन आपूर्ति गरिसक्नुपर्नेमा २०८० पुस १५ गते बल्लतल्ल मेसिन ल्यायो ।

मेसिन आपूर्तिमा किन ढिलाइ ?

१८० दिनभित्र कार्य सम्पन्न गर्नुपर्नेमा कम्पनीले एउटा मेसिन ल्यायो । २०७५ भदौ १८ गते मेसिन आपूर्ति भएकोमा अस्पतालमा बंकर निर्माण नभएकाले हलचोकस्थित सशस्त्र प्रहरी अस्पतालको प्रांगणमा मेसिन राखिएको थियो । कण्टेनरमा पानी पसेपछि प्राविधिकले मेसिन जडान गर्न मानेनन् । २०७७ कात्तिक २५ गते कम्पनीले नयाँ मेसिन ल्याउने भन्दै प्रतिबद्धता पत्र पेश गर्‍यो । सोहीअनुसार नयाँ मेसिन ल्याइयो ।

सो मेसिन जडान गर्न नपाउँदै लाइफलाइनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा पर्‍यो । यता, अख्तियारमा पनि उजुरी दर्ता भयो । सँगै कम्पनीलाई कालोसूचीमा राखियो । जसका कारण मेसिन आपूर्तिमा ढिलाइ हुन पुग्यो । बंकरका कारण मेसिन जडानमा ढिलाई भएकोमा मुद्दा–मामिला टुंगिन वर्षौं लागेको हो । टेण्डरको ६ वर्षपछि मेसिन सञ्चालनमा आएको छ ।

एउटा कोठाको ढलान खर्च ६ करोड !

एउटा कोठा ढलान गर्न कति खर्च लाग्ला ? बढीमा एक लाख । तर, वीरमा एउटा कोठा ढलान गर्दा ६ करोड ६६ लाख रुपैयाँँ खर्च भएको छ । जुन अस्वाभाविक र अपत्यारलाग्दो छ । मेसिन खरिदका लागि ४० करोडको ठेक्का खुलाइएकोमा ठेकेदार कम्पनीले त्यतिमै बोलपत्र पेश गरेको हो । तर, सो रकम कोट गर्न लाज लागेपछि ठेकेदार कम्पनीले दुई करोड रुपैयाँँ पुरानो मेसिन क्यानाडा फर्काउन लाग्ने शीर्षकमा छुट्यायो ।

त्यसैगरी, पुरानो घरको एउटा कोठा ढलानका लागि ६ करोड ६६ लाख रुपैयाँँ खर्च भएको भनी बिल पेश गरियो । बाँकी ३२ करोडको मेसिन आयात गरिएको ठेकेदार कम्पनीले जनाएको छ । तर, सो मेसिनको ३२ करोड रुपैयाँँ पर्दै नपर्ने अस्पतालका एक अधिकृत बताउँछन् । ‘त्यो मेसिनको बढीमा ११ देखि १२ करोड रुपैयाँँ पर्ला । यसमा ठूलो भ्रष्टाचार भएको छ । ३२ करोडको फर्जी बिल पेश गरिएको हुनुपर्छ’, ती अधिकृतले बताए । यता, एउटा कोठा ढलानका निम्ति ६ करोड ६६ लाख रुपैयाँँ खर्च भएको बताएपछि अस्पतालका कर्मचारीहरू आश्चर्यचकित बनेका छन् ।

‘हिरामोती’ जोडे पनि एउटा कोठा ढलान गर्न त्यत्रो पैसा नलाग्ने अस्पतालका एक कर्मचारी बताउँछन् । भन्छन्, ‘१० बाइ १० क्षेत्रफलको एउटा कोठा ढलान गर्न कहीँ त्यत्रो पैसा लाग्छ ? हिरामोती हाले पनि त्यति खर्च हुँदैन । फर्निचरका नाममा दुईटा टेबलकुर्सी ल्याएको छ । जोसुकैले हेरेपनि यो खर्च अस्वाभाविक देखिन्छ । अस्पतालकै मुख्य व्यक्तिहरूको मिलीभगतमा ठेकेदार कम्पनीले यो काम गरेको प्रष्टै छ ।’

सो रकम भुक्तानीका लागि ठेकेदारले दबाब दिइरहेको छ । अस्पतालका पूर्व लेखा उपसचिव थमनारायण शर्मा सो रकम भुक्तानी गर्न माननेन् । यता, ठेकेदार कम्पनीको बैंक ग्यारेण्टीबापत १० करोड रुपैयाँँ जफत पनि गरेका उनले १० बुँदे महत्वपूर्ण विषय उठाउँदै टिप्पणी र आदेशसमेत लेखे । 

जसमा मेसिनको ग्यारेण्टी पिरियड पाँच वर्षसम्म भएको यकिन हुनुपर्ने, वारेण्टी पिरियडपछि बाँकी १० वर्षको लागि स्पेयर पार्टस्को मूल्य यकिन गरिदिनुपर्ने, मेसिन अस्पतालको जिन्सीमा दाखिला गर्नुपर्ने, प्राविधिकलाई तालिम दिनुपर्नेलगायत उल्लेख छ । त्यसैगरी, उनले ढलान निर्माणका हकमा शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकसहितको मूल्यांकन समितिद्वारा रकम बराबरको कार्य सम्पन्नको प्रमाणपत्र पेश गर्न भनेका छन् ।

टिप्पणी र आदेशको बुँदा नम्बर ४ मा लेखिएको छ, ‘सप्लायर्सले बोलपत्रमा पेश गरेको दर रेटबमोजिम जडान र बंकर निर्माणबापत कबोल गरेको ६ करोड ६६ लाख चार हजार तीस पैसा ५२ को शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकसहितको मूल्याङ्कन समितिद्वारा कार्य सम्पन्न प्रतिवेदन पेश हुनुपर्ने ।’

ठेकेदार कम्पनीले भुक्तानी नदिए भ्रष्टाचारमा मुछिदिने भनेपछि शर्माले अस्पताल छाडे । अत्याचार सहेर बस्न सकिन्न भन्दै उनी निस्किएपछि लेखाको उपसचिवमा हिमलाल अधिकारी आएका छन् । दबाब दिएर र धम्क्याएर ठेकेदार कम्पनीले जफत गरेको बैंक ग्यारेण्टी फुकुवा गरिसकिएको छ । तनावका कारण त्यहाँ बस्न नसक्ने स्थिति बनेपछि अधिकारी पनि अन्यत्रै सरुवा हुन खोजिरहेका छन् ।

आम्दानी रुपैयाँँमा, भुक्तानी डलरमा

करोडौं तिरेर आयातित मेसिनबाट अस्पताललाई नाफा होइन, वर्षेनि लाखौंको नोक्सानी मात्र भइरहेको छ । सो मेसिनबाट वर्षेनि दुई करोड रुपैयाँँ आम्दानी गर्न हम्मेहम्मे छ । तर, ‘ एनुअल मेन्टिनेन्स् कस्ट (एएमसी)’ बापत वार्षिक दुई लाख अमेरिकी डलर भुक्तानी गर्नुपर्छ । जुन नेपाली रकममा रूपान्तरण गर्दा दुई करोड ६८ लाख रुपैयाँँ बराबर हुन आउँछ । अपुग रकम अस्पताल आफैंले व्यहोर्दै आएको छ । अस्पतालबाट थपेर दिने कार्य ठीक नभएको विषय उपसचिव शर्माले टिप्पणी र आदेशमा उल्लेख गरेका छन् ।

पुरानो मेसिन सशस्त्रको कम्पाउण्डमा

नयाँ मेसिन ल्याएपछि पुरानो मेसिन जलाउनुपर्छ । तर, सप्लायर्सले सो मेसिन नजलाईकन सशस्त्र प्रहरी अस्पताल परिसरमा राखेको छ । यता, अस्पतालमा नयाँ मेसिन दाखिला गर्नुपर्नेमा पुरानो मेसिन नै दाखिला गरिएको थियो । उपसचिव शर्माले विरोध जनाएपछि संशोधन गरेर नयाँ मेसिन दाखिला गरिएको छ । नयाँ ल्याएपछि पनि पुरानो मेसिन नै दाखिला गर्नुले आशंका उत्पन्न गराएको स्रोत बताउँछ । सो मेसिन डुप्लिकेट हुनसक्ने अनुमान धेरैको छ ।
 

टिप्पणीहरू