विदेशी ठग्ने लामिछानेको हकमा अन्य आदेश
डलर अर्बपति शेष घलेको नक्कली भाइ बनेर चिनियाँ ब्यापारीसहित दर्जनौंलाई ठगेको अभियोगमा जेल चलान भएका गमबहादुर लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा अन्य आदेश भएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्य आदेश गरेको हो ।
हाल कारागार कार्यालय,नुवाकोटमा सजाय काटिरहेका उनले उच्च अदालत, पाटन र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाउँदै गत असार ३१ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । दर्ता नम्बर ०८१–डब्ल्युएच–०३९७ रहेको सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले असार ३२ गते कारण देखाऊ आदेश जारी गरेको थियो ।

साउन ११ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेशी तोकिएकोमा हेर्न नमिल्नेमा पर्यो । आज पेशी चढेकोमा अन्य आदेश भएको छ । लमजुङको घनपोखरा घर भएका लामिछानेमाथि चिनियाँलगायतका विदेशी र दर्जनौं नेपालीलाई ठगेको आरोप छ ।
बिदेशीको घर,कम्पनी र कारोवार ठगी मुद्दाअन्तर्गत साढे तीन करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि २०७८ कात्तिक १५ गते काठमाडौं जिल्ला अदालतले उनलाई कारागार चलान गरेको थियो ।
टिप्पणीहरू