कोही कमरेड त्यस्ता, कोही कमरेड कस्ता
स्वार्थ पूर्ति हुन्छ भने नेता जुनसुकै हदमा पनि जान संकोच मान्दैन । पैसा, पावर, पद र चारित्रिक बदनामी धेरै नेताको परिचय हो भन्दा अन्यथा मान्नुपर्दैन । झुट, आडम्बर, तिकडम र महत्वकांक्षाले नेपाली राजनीतिलाई नराम्ररी गाँजेको छ ।
लाग्छ, सही मान्छे राजनीतिमा छँदै छैनन् । यिनै झुट र आडम्बरको सामुन्ने अर्काको लागि गाली खान तयार हुने नेता पनि छन् । एकैपटक सांसद बन्दा होस् वा मन्त्री नै बन्दा किन नहोस् डुङडुङती गन्हाउनेको कमी छैन । यिनैको बीचमा फरक धारका नेता पनि छन् । ती हुन्– एमाले महासचिव शंकर पोखरेल । तर, मिडियाले यिनको सकारात्मक पक्ष बुझेन र बुझेर पनि बुझ पचाउँछ ।
इमान्दारी पोखरेलको परिचय हो । यिनै पोखरेल अनेक तर्क गरिरहन्छन् तर गाली खानै सही जे हो लाइनभन्दा बाहिर जाँदैनन् । पार्टीको शक्तिशाली महासचिव होस् वा पटकपटक मन्त्री र मुख्यमन्त्री नै बन्दा किन नहोस् कुनै काण्डमा मुछिएनन् ।
पोखरेल अध्यक्ष केपी ओलीको बचाउ गर्दा गाली खाने नेता हुन् । ‘पार्टीप्रति र ओलीप्रतिको निष्ठामा तलमाथि गर्दैनन् । किनकि ओलीले नै गु्रम गरेर ल्याएका हुन् । विचारलाई आफ्नै किसिमले व्याख्या गर्नमा रमाउनेभन्दा अरु स्वार्थ राख्दैनन् ।’
चरित्रदेखि भ्रष्टाचारमा थुप्रै एमाले नेतालाई जोडिन्छ । महिलासँग अस्वाभाविक उठबसदेखि सरकारी जग्गा हडप्नेसम्मको अकाट्य प्रमाण भएका नेताको खाँचो नभएको होइन । अझै अध्यक्ष ओलीसँग नजिक भएर फाइदा लुट्ने र पार्टीलाई नै बदनाम बनाउने सूची थुप्रै नेताको बनाउन सकिन्छ तर राजनीतिको एउटा कुनाबाट चुपचाप आदर्श राजनीतिको परिचय दिएर शंकर क्रियाशील छन् । ‘मुख्यमन्त्री बन्दा पनि ठूला विवादमा कहीं मुछिएनन् । सञ्चारमन्त्री हुँदा पार्टीकै अरु नेता टेरामक्समा जोडिए, स्वार्थका थुप्रै काम गरे । तर यिनी भ्रष्टाचारमा परेका छैनन्, बरु दाङ राजधानी सार्ने काममा लागे । तर पूर्वाधार निर्माणको घोटालामा मुछिएनन् । आर्थिक चलखेलको नियतबाट टाढै बस्नुपर्ने मान्यतामा अगाडि बढ्दै आएको पाउँछौं ।’
चरित्रमा प्रश्न उठेका थुप्रै नेता एमालेमा छन् । कतिपयलाई अध्यक्ष ओलीले चुपचाप सहेर बोकिरहेका छन् । तर यी मामिलामा बेदाग पोखरेल चुपचाप पार्टी प्रणालीलाई सहयोग गर्दै आउने नेतामध्येमा पर्छन् । हाम्रा नामै चलेका कतिपय नेता महिलासँगको सम्बन्धलाई लिएर बदनाम छन् । तर पोखरेल चारित्रिक रुपमा बेइमान छैनन् । पैसा खाएर काम गर्ने, सरुवा, बढुवामा स्वार्थ राख्ने काम गर्दैनन्, मास बेस्डभन्दा क्याडरलाई बन्द कोठामा प्रशिक्षण दिन रुचाउँछन् । चर्को भाषण गरेर मास तताउन सक्ने क्षमता भन्दा शान्त शैलीमा चुपचाप काम गर्न रुचाउँछन् ।’ कतिसम्म भने लामो राजनीतिक जीवनमा पोखरेललाई जघन्य अपराधको आरोप लागेको छैन । उनको यही शैलीलाई कतिपयले आलोचनाको विषय पनि बनाउँछन् ।
विरोधी कतिपयले उनको शारीरिक अवस्थालाई व्यवहारसँग जोडेर बदनामसमेत गर्न खोज्छन् । कार्यकर्तासँग खुल्दैनन्, दोहोरो संवाद गर्दैनन् भनेर आरोप लाग्छ तर धेरै वर्ष अगाडि अप्रेसन गरेका उनी एउटा कान अलि कम सुन्छन् । तर पोखरेललाई यी सबै चिजको वास्ता हुँदैन । अध्यक्षको लाइनमा चुपचाप काम गर्न रुचाउँछन् । अरु नेताले पद नपाउँदा समूह फेर्ने, सहयोग गर्ने नीति लिन्छन् तर खट्न सक्ने र निर्वाध काम गर्न सक्ने भएकैले उनी अध्यक्षको रोजाइमा पर्ने गरेका छन् ।
विद्या भण्डारी कस्सिँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि भित्री रुपमा यसअघि उपाध्यक्ष विष्णु पौडेलसम्मले सम्बन्ध र सम्पर्क बढाएका थिए । तर शंकरले भने भण्डारीका विषयमा राजनीतिक लाइन लिइरहे । अर्थात पूर्वराष्ट्रपति राजनीतिमा आउँदा एमालेलाई फाइदा हुने भए पनि त्यता लाग्न नहुने मत राखे ।
विद्याले काउन्टर नदिँदासम्म एमालेमा उपाध्यक्ष विष्णु पौडेलले संस्थापनसँग समानान्तर व्यवहार गरेका थिए । एमालेका जनवर्गीय संगठनको चुनावी नतिजाले पनि त्यही देखाउँछन् । ओलीले अर्थमन्त्री मात्रै बनाउन खोजेका विष्णु पौडेल शंकर पोखरेलकै जोडबलमा उपप्रधानमन्त्री बनाइएका थिए ।
ओलीसँग काम गरेर जसले बदनामी व्यहोरे
ओलीले आफूसँग नजिक रहेकालाई सधैं पुरस्कृत गर्दै आएका छन् । कुनै समय तीन छोराको परिचय बनाएका कर्ण थापा, गोकुल बाँस्कोटादेखि महेश बस्नेत विवादको उत्कर्षमा पुगे ।
ओलीले नै उद्योगमन्त्री बनाएपछि कर्ण थापा आफ्नै कारणले राजीनामा दिन पुगेका थिए । मन्त्री हुँदा विदेशमा पेन्टी लगाएर स्विमिङ गरेपछि ओलीले हटाएको चर्चा छ । उता महिलासँग जोडिएको विषयमा महेश बस्नेत र ऐन महरलाई कारवाही गर्नुपर्ने विषय पार्टीमा खुब उठ्यो । तर, ओलीले च्यापिरहे ।
गोकुल बाँस्कोटा कुनै समय ओलीका धर्मपुत्र जस्ता थिए । बालकोटको घर नै जिम्मा लगाएका थिए तर ७० करोडको घुस मोलमोलाइमा मन्त्री पद गएपछि विस्तारै ओलीसँग टाढिए । ‘१७ महिननादेखि मैले भेट्न नपाउने ? भन्दै बालुवाटार पुगेर बाँस्कोटाले केही दिनअघि ओलीसमक्ष आक्रोश पोखेछन्,’ एमाले स्रोत भन्छ, ‘मलाई ढोका बन्द किन ? भनेर सोध्दा ओलीले कतिपटक भंगाल गइस् ? काभ्रेमा चन्द्र लामालाई आधिकारिक उम्मेदवारको रुपमा किन उठाइस् ? विद्या भण्डारीलाई किन काभ्रे लगिस् ? तँलाई अब फेरि मन्त्री बन्नु छ कि छैन ? भनेर गाली खाएछन् ।’
शंकर पोखरेल र केपी ओलीले भेटेपछि बाँस्कोटा अहिले विद्याको मामिलामा नरम भएका छन् । शुरुमा भण्डारीलाई एमालेमा ल्याउन भर्याङ हाल्ने ईश्वर पोखरेल पनि गल्दै गएका देखिन्छन् । पोखरेलले माधव नेपाललाई बोक्न सकिँदैन भनेर बोकेपछि ओलीले नवौंमा अध्यक्ष जितेका हुन् । इश्वरको पनि गुनासो भनेको केपी ओलीलाई भेट्न पाइएन भन्ने हो, पहिले उचाले पनि केन्द्रीय कमिटीको बैठकमा फरक मत राखेनन् । बरु ओलीले विद्यालाई च्यासलमा भेट्नुअघि बिहानै बालुवाटार पुगेर तपाईंसँगै छु । वरिष्ठ उपाध्यक्ष विधानबाट नहटाइदिनुस् भन्न भ्याए । ओलीले माइन्युट प्रमाणित गरिसक्दा पनि नोट अफ डिसेन्ट पठाएनन् ।
ओलीको रिसभन्दा पनि बालुवाटारमा विष्णु रिमाल, अञ्जान शाक्य, कोमल वली र अस्गर अली हावी हुँदा हामीले किन अवसर नपाउने भनेर रिसाउनेहरु पनि धेरै छन् ।
कृष्णगोपाल श्रेष्ठ विचार नमिलेर भन्दा उपत्यकामा जित्ने थोरै नेवारमध्येको भएर पनि फेरि मन्त्री नबनाइएको औडाहामा छन् । विद्या भट्टराईले छोडेपछि शिक्षामन्त्री बन्न इच्छुक थिए । केपी ओलीले सुनिता डंगोललाई बोकेको रिसमा बालेनलाई विद्यासँग भेटाउने उनै हुन् ।
– भविश्वर अर्याल, त्रिवेणी (पश्चिम परासी)
(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू