माइतीघर पुगेकी गायिका भन्छिन् ‘श्रीमानले गुण्डा लगायो’
श्रीमानद्वारा पटक–पटक कुटपिट र ज्यान मार्ने प्रयास भएको आरोप लगाउँदै गायिका बुनु उप्रेती न्याय माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी छन् ।
झापा दमक–१ निवासी ४० वर्षीया उप्रेतीले श्रीमान् शेखर चापागाईंले समूहगत रूपमा गुण्डा प्रयोग गरी आक्रमण गरेको आरोप लगाएकी हुन् । उनका अनुसार, आफूलाई आठ पटक मरणासन्न हुने गरी कुटपिट गरिएको र तीन पटक घाँटी निमोठिएको छ ।
कैयौँपटक प्रहरीकहाँ उजुरी दिए पनि जाहेरी नलिएर वेवास्ता गरिएको उनको गुनासो छ । बल्लतल्ल ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिए पनि ललितपुर जिल्ला अदालतले “मागदाबी नपुगेको“ भन्दै मुद्दा खारेज गरेको उनले बताइन् । त्यसपछि उनी पाटन उच्च अदालतमा पुनरावेदन लिएर गएकी थिइन् । तर, पहिलो पेशीमै कुनै जानकारी नदिई जिल्ला अदालतको फैसलालाई सदर गरिएको भन्दै उनले आपत्ति जनाएकी छन् ।
‘मसँग घटना सम्बन्धी भिडियो फुटेज थिए,’ उप्रेतीको भनाइ छ, ‘तर अदालतले तिनलाई मूल्यांकन नै नगरी मुद्दा खारेज गरिदियो। अब म कहाँ गएर न्याय माग्नु ? अदालतबाट पनि न्याय नपाएपछि म सडकमा उत्रन बाध्य भएकी हुँ।’
लोकप्रिय गीत ‘तिम्रो फोटो देखाईदेखाई फकाइसके मम्मीलाई’, ‘तोरी तेल लाएर कपाल कालो’ लगायतका दर्जनौँ गीतमा स्वर दिएकी गायिका उप्रेती केही दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेकी छन् ।
टिप्पणीहरू