१० करोड पार्टी सदस्यलाई मिलाउने दुःख
चीनको एउटा ठूलो शहर थ्यानजिनबाट अर्को महत्वपूर्ण सेन्चेन नगर जाँदा प्लेन चढ्ने बेला एउटा पत्रिकामा आँखा पर्यो । पत्रिका बोकेँ, चाइना डेली रहेछ । साढे तीन घण्टाको हवाईयात्रामा त्यो पत्रिकाको ब्यानर न्युजले मेरो आँखालाई तानिरह्यो । चिनियाँँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित समाचार रहेछ त्यो ।
स्वाभाविकै हो, त्यसमा रुचि जाग्नु किनभने म त्यही पार्टीले नेतृत्व गरेको सरकारको एक मन्त्रालयअन्तर्गतको पाहुना थिएँ । अरूको ध्यान कता थियो थाहा भएन । हामी फरक–फरक ठाउँमा पर्यौँ । सँगै मिलाइदेऊ भन्न पनि सकिएन । पत्रिकाको ब्यानर न्युजले भन्छ, चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य एक सय मिलियन कटे अर्थात् त्यो संख्या दश करोड हो । संसारकै बढी जनसंख्या भएको मुलुकको एउटा कम्युनिष्ट पार्टीका त्यति सदस्यको व्यवस्थापन कसरी हुन्छ होला ? यो प्रश्न उत्तिबेलै उब्जियो । अनि तलतिर हेर्दै जाँदा यो पनि पत्ता लाग्यो कि त्यो पार्टीमा माथिल्ला कमिटीभन्दा पनि तल्ला कमिटी बलिया र शक्तिशाली हुँदा रहेछन् । ती कमिटी नै निर्णायक हुने र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम गर्न उनीहरू स्वतन्त्र हुने रहेछन् । अनि आफ्नै देशतिर फर्की हेरें । यहाँ त्यस्तो कहाँ हुन्छ र !
पार्टीहरूमा जनवाद छैन, केन्द्रीयता लादिन्छ । पुँजीवादीहरूको के कुरा गर्नु ? समाजवादी कम्युनिष्ट पार्टीहरूकै यो ताल छ भनेपछि... । फेरि सम्झें, पाँच/छ लाख पार्टी सदस्य हुँदा त कार्यकर्ताको व्यवस्थापन हुन र उचित जिम्मेवारी लिनदिन नसकेर नेकपा फुट्यो । नेता मिल्न सकेनन् भने चीनमा दश करोड पार्टी सदस्यहरूको व्यवस्थापन र जिम्मेवारी कसरी मिलाइन्छ होला ? यो कुरा बुझ्ने हुट्हुटी जाग्नु स्वाभाविकै हो ।
यतिबेला नेपालमा कम्युनिष्ट प्रधानमन्त्री छन् । जसरी भए पनि प्रधानमन्त्री हुनु त हो । उता चीन कमरेड माओले क्रान्ति सम्पन्न गरेपछि तीव्र विकासको यात्रामा छ । देङ सियाओ पिङले त्यो तीव्र विकासको मार्गप्रशस्त गरे । कोही केही हुनुले धेरै फरक पर्दोरहेछ । ऊ त्यसै त्यहाँ पुगेको होइन । जिम्मेवारीमा पुगेको मान्छेमाथि केही विशेष आशा हुनु स्वाभाविकै हो । सेञ्जेनस्थित एक सरकारी कार्यालयको चौथो तलामा बनाइएको म्युजियमको भित्रपट्टि उनै देङको हात उठाएको शालिक छ । त्यसको ठीकपछाडि एउटा गाडी पनि छ ।
एक चिनियाँँ क्रान्तिकारी राजनेता, उनले सन् १९७८ डिसेम्बरदेखि सन् १९८९ नोभेम्बरसम्म प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए । सन् १९७६ मा माओ त्सेतुङको मृत्युपछि देङ सर्वोच्च नेताको रूपमा उदय भएका थिए भने उनले दूरगामी बजार–आर्थिक सुधारको नेतृत्व गरेका थिए ।
चीनले ४० वर्षभित्र गरेको आर्थिक प्रगतिले अहिले विश्व नै चकित बनेको छ । यो कसरी सम्भव भयो ? मनभरि त्यस्ता प्रश्न थिए, जो जताततै पोख्न नमिल्ने । न ओकल्न मिल्ने । तैपनि भ्रमण अवधिभर चीनले गरेको आर्थिक विकासको खाका र योजना अनि त्यसको सफल कार्यान्वयनप्रति चासो देखाइयो । सोधिए केही प्रश्न तर उत्तर पनि सटिक नै आउने । संसारमा कम बोल्ने मानिस सफल हुन्छन् भनिन्छ । चिनियाँ पनि कमै बोल्छन् । त्यही भएर उनीहरू सफल भएका होलान् कि ?
सोधेको उत्तर दिने, बढी बहस र छलफल नगर्ने । नेपाली भने ठीक उल्टो । नेपालीमा बढी जान्ने प्रवृत्ति छ । नजाने गाउँको बाटो सोध्ने र अरूलाई बढी नै सुझाव दिने प्रवृत्ति छ । सल्लाहकार बढी बन्ने र आफू भने केही नगर्ने सोच बढी छ । हुन तः यो एउटा मानवीय स्वभाव पनि होला । हामै्र साथीहरू पनि त्यस्तै थिए । भो, त्यता धेरै नजाऔँ ।
देङको आत्मकथाको किताब पहिले नै पढेको थिएँ । तर, भुलिएछ । त्यो म्युजियममा पुगेपछि अलिअलि याद आयो । अनि खोजेँ, उनले शुरु गरेको सामाजिक–आर्थिक सुधारको दृष्टान्त । गज्जब रहेछ । सन् १९७८ देखि २०१६ को बीचमा चीनको कूल गार्हस्थ उत्पादनमा ३, २३० प्रतिशतले वृद्धि भएको रहेछ । त्यसबीच ७० करोड मानिस गरिबीको रेखाबाट उठे भने ३८.५ करोड मध्यम वर्गका रूपमा उकासिए । चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्म विदेशी व्यापारमा अगुवाको रूपमा उदायो ।
सन् २०२५ सम्म आइपुग्दा यो क्रम अझै अकासिएको रहेछ । अहिले चीनले विश्वको ७० प्रतिशत व्यापारको भार वहन गर्दछ । यो उनीहरूको दावी हो तर यथार्थ पनि हुन सक्छ किनभने यो पछिल्लो ४० वर्षलाई उनीहरूले आर्थिक विकासको युगको रूपमा लिएको पाइयो । जसले चीनलाई विश्वसामु एउटा उदाउँदो शक्तिको रूपमा चिनाएको मात्र छैन, विश्व व्यापार र शक्ति सन्तुलनमा तलमाथि पार्न सक्ने देशको पहिचान दिएको छ ।
यसरी हेर्दा ४० वर्षमा देशको कूल गार्हस्थ उत्पादन चार गुणाले बढाउन सफल चीनको आर्थिक क्रान्तिको प्रमुख आधार कृषि र उद्योग रहेछ । स–साना स्रोतको अधिकतम उपयोग, सार्वजनिक सम्पत्तिमा सरकारको स्वामित्व, जनसंख्या र प्रविधिको सही उपयोग, राष्ट्रिय पुँजी निर्माण र दक्ष जनशक्तिको परिचालन चीनको मौलिक मोडल हो । जसको माध्यमबाट उनीहरू त्यहाँ पुगेका छन् । त्यसको माध्यमबाट उत्पादनलाई जोड दिएर विश्वसामु आफ्ना वस्तु वितरणलाई जोड दिई चीन एउटा उदाउँदो अर्थतन्त्र भएको विश्वकै नं. एक मुलुक बनेको रहेछ । अमेरिका सामरिक हिसाबले अगाडि भए पनि आर्थिक विकास र उत्पादनका दृष्टिले चीनको विकास र आर्थिक सम्पन्नताका आधारबारे जान्ने अवसर पाउनु आफ्नो देशको भविष्यका लागि रामै हुन सक्थ्यो ।
त्यही सोचेर अलि बढी नै उत्सुकता देखाइयो । आखिर गर्दा के हुँदो रहेनछ त ! तर, खै हाम्रा नेताले किन नगरेका होलान् ? त्यसरी हेर्दा नेता, कर्मचारी र आमनागरिकको दृढता, अनुशासन र मिहिनेतले कुनै देश सफलताको मार्गमा हिँड्न सक्दो रहेछ भन्ने लाग्यो ।
कहाँ विदेशी लगानी गर्ने र कहाँ नगर्ने यो एउटा नीतिगत प्रश्न हो ।
नेपालमा पनि यसबारे कहिलेकाहीँ बहस र छलफल हुने गर्छ । तर, निरर्थक बहस र छलफलले कुनै निकास दिएको छैन । के वैदेशिक लगानी हानिकारक मात्र हुने गर्छ ? नेपालमा यसबारे अतिवादी सोच छ । यतिसम्म कि हामी वैदेशिक लगानी स्वीकार्ने ठाउँमा छैनौँ । यसलाई वैदेशिक हस्तक्षेप ठान्छौं । देशको सार्वभौमिकता र अखण्डतासँग जोडेर चुनावी एजेण्डा पनि बनाउन पछि पर्दैनौं । के यसो गर्नु ठीक हो त ?
विकास मानिसका लागि अनिवार्य शर्त हो । यो कुनै बहाना बनाउने सवाल होइन । नेतृत्व देश विकासको पथप्रदर्शक मात्र हो । ऊ सर्वज्ञ होइन । यद्यपि, हाम्रो सोचले कहीँ–कतै मेल खाइरहेको देखिँदैन । ग्वार्कोको बाइपास बन्दा भयंकर भयो भन्ने अनि अझै नसकिएको सुरुङग मार्ग बन्यो भनेर उद्घाटन गर्ने नेताकै सोचमा खोट छ । धरहरा बन्दा को दुःखी भयो र ? दमकमा टावर बन्दा को खुशी छ ? तर, जनतालाई यस्ता प्रश्न गर्न पाउने हक छ । त्यसकारण कसैले प्रश्न गर्दा जेलमा कोचिनुहुन्न । कसैले सवाल गर्दा साइबर कानुन लाग्नुहुन्न । तर, यहाँ नेता सर्वज्ञानी छ । ऊ सर्वश्रेष्ठ छ । अरूभन्दा भिन्न देखिन उसले अरूको खुट्टा काटेको छ । अरूभन्दा सफा देखिन अरूको लुगामा हिलो छ्यापेको छ ।
यहाँ केही वर्षअघिको एउटा उदाहरण दिन आवश्यक देखिन्छ । एउटा विदेश यात्रामा एक जना साथीले सोधेको थियो, ...तिमीहरूको क्रान्तिपछिको नेता को हो भनेर । त्यस प्रश्नमा मेरो निधार खुम्चियो । तर, यहाँ उनै चिनियाँ नेता देङ सियाओ पिङको उदाहरण दिँदा काफी हुन्छ कि उनले एकपटक पुरानो चीनलाई सोसलिष्ट मार्केट इकोनोमीतर्फ मोड्ने बेलामा भनेका थिए, बिरालो सेतो होस् या कालो यदि उसले मुसा मार्छ भने त्यो नै ठीक हो । यसरी समाजवादसँग मेल खाने बजार अर्थतन्त्रको अवधारणा ल्याएपछि आज चीनले यो प्रगतिको मार्ग पहिल्याएको हो भन्दा फरक पर्दैन किनभने तथ्यहरूले यही भन्छन् ।
मूलभूत रूपमा विदेशी प्रविधि र पुँजी स्वीकार गर्ने नीतिले चीनलाई यहाँसम्म ल्याइपुर्याएको हो भन्दा हुन्छ । विशेष आर्थिक क्षेत्रको निर्माण, कृषिमा गाउँ सुधार नीति, उत्पादन र निर्यात यसका प्रमुख आधार हुन् । नीतिमा सुधार, खुलापन र बजारउन्मुख दृष्टिकोणले उनीहरू त्यहाँसम्म पुगे ।
तर, हामी कहाँ छौं ? उनै विदेशी मित्रले सोधेको उत्तर खोज्ने क्रममा मैले कति दिमाग खियाएँ अथवा चीनका शहर वा गाउँतिर कामका लागि हतारिएका र मेट्रोमा कसैसँग नबोली मोबाइलतिर मात्र ध्यान दिने चिनियाँँलाई सम्झेँ मैले । यसरी तय गरिएको आर्थिक विकासको मोडलले उनीहरूलाई यति व्यस्त बनायो कि कतिपय मलमा र सडकतिर छोटाछोटा लुगा लगाएर मस्किँदै गरेका डलजस्तै ठिटीहरू, हात समाएर हिँड्ने स्वतन्त्रता पाएका चिनियाँँ जोडी अनि रेष्टुरेण्टमा नचपाइकन खान हतार मान्छेहरूलाई याद गरिरहेको छु म । फेरि भेट होला कि भनेर ।
टिप्पणीहरू