‘वीर’ वामदेवको ब्युँतिएको बल
विसं २०५४ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा नेकपा (एमाले) का तर्फबाट पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई गुप्तचरतिर सरुवा गरी ध्रुवबहादुर प्रधानलाई उकाले । कालान्तरमा प्रधान चन्दको राप्रपामा प्रवेश गरेका हिसाबले खरेलको बहिर्गमन गौतम एक्लैको मात्र निर्णय थिएन भन्ने देखिन्छ । सोही साल सम्पन्न स्थानीय निर्वाचनमा एमालेले अभूतपूर्व जित हासिल गर्यो जुन प्रहरी बलकै परिचालनबाट सम्भव भएको आरोप पनि लाग्यो । पूर्वप्रहरी प्रमुख प्रधान पछि मन्त्रीसमेत बन्न सफल भए । अहिले पनि उनी सोही दलबाट सांसद छँदै छन् । अर्काे पटक उनले प्रहरी ऐनलगायत कतै कानुनी व्यवस्था नभएको विशेष सल्लाहकार पद सिर्जना गरी पूर्वगुप्तचर अधिकृत नरहरि सङ्ग्रौलालाई नियुक्त गरे जसमा पार्टीको स्वीकृति थिएन र त्यो प्रयास असफल भयो ।
माओवादी सशस्त्र सङ्घर्षका बेला उनी आतङ्कवाद विरोधी ऐन ल्याउने सुरमा थिए । वामदेवलाई लागेको आरोप अर्काे पनि थियो, त्रिभुवन विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको ।
महाकाली नदी सम्झौता प्रकरण चलेपछि राष्ट्रवादी भनिएको धारको नेतृत्व गर्दै एमालेलाई संसदीय दलबाट पनि विभाजन गरेका माले महासचिव गौतम वि.सं २०५६ को संसदीय आमनिर्वाचनमा ६ लाख मत ल्याएर पनि पार नलागेपछि गौतम वीरताका साथ एमालेसँग एकीकरण गर्न आइपुगे । वि.सं २०७४ को आमनिर्वाचनमा बर्दिया क्षेत्रबाट पराजित भए पनि एमाले र नेकपा (माओवादी केन्द्र) बीच विसं २०७५ जेठ ३ मा एकीकरण गराउने कठोर काममा नारायणकाजी श्रेष्ठसँग मिलेर सफल भए । बीचमा अध्ययन–अनुसन्धानमा लागे र विकास प्राधिकरण भन्ने नयाँ अवधारणा ल्याई त्यसको प्रमुख बन्ने प्रस्ताव राख्दा सरकार प्रमुख ओली त्यसमा सहमत भएनन् । उनले देश विकास र आर्थिक समृद्धि झल्कने एक पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ निकालेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभाका रिक्त एक स्थानमा ल्याउने क्रममा ओली भर्खरै निवृत्त डा. युवराज खतिवडाको पक्षमा रहे पनि सचिवालय सदस्यको बहुमतले गौतमलाई ल्याइछाड्यो । गौतम त्यसपछि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने मन्तव्य दिन लागे । गौतमलाई कार्यकारी प्रमुखसम्म पुग्न समयले साथ दिएको थिएन । आफैँलाई लक्ष्य गरिएको उनको त्यो अवधारणा ‘नेपालको संविधान’ अनुकूल पनि थिएन, छैन । एकता अभियान खोलेपछि पनि कहिले एमाले त कहिले नेकपा (एकीकृत समाजवादी) दुवैतिर एकता वार्ता चलाइरहेका गौतमको अस्थिरता यस्तोसम्म देखियो कि उनी दिनदिनै कुरा फेर्न थाले– कहिले एमाले, कहिले एस ।
गौतम उमेरले ७७ वर्ष भए । सात वर्षको उमेरमा कक्षा दुईमा पढ्दा एकीकृत नेपाल कम्युनिष्ट पार्टीको झण्डा समाएका उनले कहिले पार्टी फेरे, कहिले माओवादी सङ्घर्ष र तिनका नेता पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे तर साम्यवादी विचारबाट भने कहिल्यै विचलित भएनन् । विसं २०३६ मा रूपन्देहीमा सम्पन्न नेकपा (माले) को केन्द्रीय कमिटी बैठकमा पनि गौतम राजतन्त्र अन्त्य गर्ने अडानमा राम्रैसँग रहेको नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले गत शुक्रबारको एकता घोषणासभामा स्मरण गराइदिए । नेकपाको एकता गराउन पहिले अहोरात्र खटिएका उनी अब पनि त्यस प्रयत्नलाई पुनः बिउँझाउन नेकपा (एस) मा आफ्नो समूहलाई विलय गराउन तयार भए । उनको जुझारु छवि साउन २ गतेको एकता घोषणासभामा स्पष्ट देखिन्थ्यो । उनले आफूलाई पद चाहिन्न, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसैमा बिहान, दिउँसो र राति खट्न तयार भएको बताए । उनको अर्काे दरिलो अभिव्यक्ति थियो, ‘देश र पार्टीलाई चाहिएमा मेरा यी दुई हातलाई हतियार बनाउन पनि तयार छु ।’ कम्युनिष्ट पार्टीमा समाहित हुँदा उनका दुई संकल्प थिए रे, एक राजतन्त्र अन्त्य गर्ने, दुई कम्युनिष्ट पार्टीलाई एक बनाउने । दुवै कुरा करिब पूरा भए पनि पछिल्लो संकल्पमाथि पानी खन्याउने काम ठूलो दल भनिएको दलले गरेकाले त्यसमा उनी अझै आशावादी छन् । खास कुरो त उनी संविधानमा लेखिएको समाजवादउन्मुख शब्दप्रति सन्तुष्ट छैनन् । शुक्रबारको सभामा उनले भने, ‘समाजवादोन्मुख भनेको उत्तर चीनतर्फ मुख फर्कने भनेको हो कि क्युबा, भियतनाम, लाओस, उत्तर कोरिया भनेको हो, स्पष्ट भएन । अब समाजवादको घोषणा नै गर्नुपर्छ । अनि मात्र निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीमा जान सकिन्छ । चाहने हो भने हामी एक वर्षमै त्यस बाटामा जान सक्छौँ ।’
गौतमको नेकपाका समूहहरू एकीकृत हुँदै जानुपर्छ भन्ने भावनालाई उपस्थित नेता–कार्यकर्ताले निकै लामो समयसम्म ताली र सिठ्ठी फुकेर स्वागत गरे । असीको वयमा उन्मुख गौतमको ऊर्जा हेरेर पार्टीले उनलाई संगठन विस्तार गर्न, जनजागरण ल्याउन र नेकपाका विभिन्न घटकहरूसँग एकता गराउन जिम्मा दिनुपर्छ । गौतमको जोशबाट युवा नेता–कार्यकर्ताले प्रेरणा लिन सक्नुपर्छ । विसं २०५१ मा एमालेलाई विरोधीहरू मिलेर ङ्याक्न लागेमा पार्टीले सबैलाई एकै खाल्डामा पुर्न सक्नुपर्छ भनी उनले बोलेका कुरालाई बङ्ग्याएर मिडिया र अन्य दलले खेदो खन्दै एमालेमा कम्युनिष्ट अधिनायकवादी विचार अझै समाप्त नभएको धारणा राखे । उनमा राष्ट्रिय नेता हुने सम्भावना देखेरै मदन भण्डारीले बर्दिया जिल्ला कमिटीबाट केन्द्रमा ल्याएका थिए । अब भण्डारीको सोचलाई अझै पूर्णता दिन पनि उनले आफ्नो व्यक्तित्वलाई अगाडि ल्याउनैपर्छ । वीर र सुरा गौतमलाई सातै प्रदेश र ७७ जिल्लामा पुर्याउन सम्बन्धित क्षेत्रका नेताकार्यकर्ता पनि तात्नु जरुरी छ । अघिल्लो आमनिर्वाचनमा नेकपा (एस) को कम मत र संसदीय सिट वा स्थान प्राप्ति केन्द्रीय नेताको आलोक नगरको बसाइ हो भन्ने कुरा सबै नेता–कार्यकर्तालाई थाहा छ ।
टिप्पणीहरू