चासो र आशंकाबीच प्रधानमन्त्री र पूर्व राष्ट्रपतिको भेटवार्ता
प्रधानमन्त्री समेत रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुन लागेको छ । पार्टीकी पूर्व उपाध्यक्ष समेत रहनुभएकी भण्डारी झण्डै तीन वर्षपछि पार्टी केन्द्रीय कार्यालय, च्यासल जान लाग्नुभएको हो ।
उहाँहरुबीचको भेटवार्ता दिउँसो ३ बजेका लागि तय गरिएको छ । पार्टी सचिवालय बैठक र पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको प्रावधान नराख्न खोजेको पृष्ठभूमिमा आगामी नेतृत्वको चाहनासहित सक्रिय राजनीतिमा फर्किनुभएकी भण्डारी र पुनः नेतृत्वमा रहिरहनेगरी अघि बढ्नुभएका अध्यक्ष ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उमेर हद र दुई कार्यकालको प्रावधान कायमै रहेको अवस्थामा स्वतः बाहिरिनुपर्ने भएपछि अध्यक्ष ओलीको विधान संशोधन गरेरै नेतृत्वमा रहरिहन चाहेको आशय प्रष्ट भइसकेको छ । हालैको एक अन्तर्वार्तामा भण्डारीलाई नेतृत्वको लागि ‘असक्षम’ करार गर्नुभएका ओलीलाई नेतृत्वमा राखिरहन अर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष विष्णु पौडेल, पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतको बलियो साथ देखिन्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापालगायतको भण्डारीलाई नेतृत्वमा ल्याउन निकै जोड छ ।
टिप्पणीहरू