शान्ति सुरक्षाको अवस्थाप्रति गृहमन्त्री सन्तुष्ट
गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको अवस्था ठिक रहेको दाबी गरेका छन् ।
संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशमा मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न गृह प्रशासन सक्रिय रहेको बताए । अपराध न्यूनिकरण, नियन्त्रण र अनुसन्धान तीनवटै पक्षमा सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको गृहमन्त्रीको जिकिर छ ।
‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ । हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो । नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो । अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो', उनले भने ।
सुशासन र संविधान र कानूनको कार्यान्वयनसँगै विपद् व्यवस्थापनको काममा पनि गृह मन्त्रालय खटिएको गृहमन्त्रीले प्रष्ट्याए । एक वर्ष पहिलाको भन्दा अहिले गृह प्रशासनबाट हुने कामको समग्र स्थिति सन्तोषजनक रहेको उनको भनाइ छ ।
'अपराध नियन्त्रण गर्नेकुरामा हामी निरन्तर लागिरहेका छौँ । अपराध भइसकेपछि अपराधीलाई कानूनी दायरामा ल्याउने कुरामा हाम्रा सुरक्षा निकायहरुले राम्रोसँग काम गरिरहेका छन्', गृहमन्त्री लेखकले भने, 'पछिल्लो समयमा हजुरहरुले हेर्नुभयो भने धेरै पुरानो पुरानो अपराधमा पनि संलग्न भएर फरार भएका मानिसहरु पक्राउ परेका छन् ।’
लागूऔषध न्यूनीकरण, नियन्त्रण र निषेध गर्न सरोकारवाला सबै पक्ष मिलेर जानुपर्नेमा पनि उनले जोड दिए ।
टिप्पणीहरू