कांग्रेसमा यो के काइदा
सत्तारुढ सर्वाधिक ठूलो दल नेपाली कांग्रेसको कथा नै बेग्लै छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको झाँकी हेर्दा संस्थापनभन्दा इतरपक्षको बेहाल देखिएको छ । त्यो अवस्थालाई इंगित गर्दै एक नेता भन्छन्, ‘४० प्रतिशत मतभार भएका वरिष्ठ नेताको अवस्था टिठलाग्दो छ । उनी महाधिवेशनको मिति तोक्नुपर्छ, पार्टी विधान र प्रक्रियामा चल्नुपर्छ भनेर केन्द्रीय कार्यसमितिमा कुरा राख्दैनन् । बरु मलामी भेला र अनौपचारिक भेटघाटमा भने सभापति देउवा र संस्थापन पक्षको खोइरो खनिरहन्छन् ।’
सरकारमा एमालेसँग जानु हुँदैनथ्यो, किन गएको भन्ने प्रश्न उठाउँदै आएका छन् । जबकि अहिलेको गठबन्धनका सूत्रधार उनै हुन् । दुई ठूला दल मिली स्थिर सरकार बनाउनुपर्छ भनेर उनैले बालकोट पुगेर ओलीसामु पहिलो प्रस्ताव राखेका थिए । गत माघमा गोदावरीमा सम्पन्न महासमिति बैठकमा आफ्नै गुटबाट लडेर महामन्त्री बनेका गगन थापाले कार्यतालिका ल्याउन प्रस्ताव राख्दा उनलाई डाक्टर शेखर कोइरालाले समर्थन गरेनन् ।
अहिले शेखर पक्षका नेता नै किन रिसाएका छन् भने उनी जहाँ, जुन कुरा राख्नुपर्ने हो त्यो काम गर्दैनन् । सांसद हुन् तर संसदको बैठकमा जाँदैनन् । जनताले उनलाई दिएको जिम्मेवारी कानुन बनाउने हो तर संसदीय समितिमा उनको उपस्थिति हुँदैन ।
त्यसो त शेखर कोइरालाका अरु पनि धेरै कमजोरी छन् । उनले मधेशको एक जिल्लाका पार्टी सभापतिलाई खेदो खनिरहेका छन् । जबकि उनीमाथि लागेको भ्रष्टाचारको आरोप पुनरवलोकनको अवस्थामा छ । मुद्दा टुंगिसकेको छैन र अदालतले भ्रष्ट भनिसकेको स्थिति होइन तर भ्रष्टाचारको आरोपमा अख्तियारले मुद्दा दायर गरेका दुई जना नेता पूर्वगृहमन्त्री र पूर्व स्वास्थ्यमन्त्रीलाई दायाँबायाँ राखेर देश दौडाहामा देखिन्छन् । यसरी बालकृष्ण खाँण र मोहन बस्नेतलाई सारथिका रूपमा लिएर हिँड्ने तर जिल्ला सभापतिको खेदो खन्ने शैली धेरै नेतालाई मन परिरहेको छैन । बालकृष्णसँग जम्मा तीन चार जना सांसद मात्र छन् । उनकै धर्मपत्नी मञ्जु, सांसद रूपा बिकलगायत । त्यसमाथि मोहन बस्नेत अहिले गगन थापासँग सुशासनका कुरा गर्दै जुहारी खेलिरहेका छन् । अनि स्वयं शेखर कोइराला विनोद चौधरीसँग राजनीतिक बहस चलाउनमा तल्लीन छन् ।
शेखर कोइराला खेमाका पुराना नेताको चित्त दुःखाइ के पनि छ भने बालकृष्ण खाँण, मोहन बस्नेत, एनपी साउद जस्ता हिजो देउवालाई दाइ भन्दै कुदेकाहरू अहिले क्याम्प फेरेर निकटस्थ बन्न आएको पनि उनीहरूलाई निको लागिरहेको छैन ।
धेरैको बुझाइ के छ भने रमेश लेखकलाई शेरबहादुर र आरजुले उत्तराधिकारीका रूपमा अगाडि बढाउन थालेपछि एनपी साउद बिच्किएका हुन् । त्यसो त अर्को चर्चा के पनि छ भने विष्णु पौडेल र आरजु राणाबाहेक अरु सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भइरहेको छ । त्यसो गर्दा भ्रष्टाचारको आरोप लागेका कसैले राजीनामा दिइरहनु परेन । अनि अक्षम भनिएको मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूलाई बदल्न मौका मिल्छ । सँगसँगै केहीलाई मन्त्री बनाएर बिग्रिँदै गरेको सन्तुलनलाई सम्हाल्ने मौकासमेत शीर्ष नेतालाई जुर्न सक्छ ।
टिप्पणीहरू