पोखरामा सुदन गुरुङलाई रोक्ने प्रयास
हामी नेपाल एनजिओका अध्यक्ष संयोजक सुदन गुरुङले पोखरामा हुने जेनजीको कार्यक्रम नेकपा एमालेका कार्यकर्ताले विथोल्न खोजेको आरोप लगाएका छन् ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद,कास्की जिल्ला कार्यसमितिले आज दिउँसो पोखरा उद्योग वाणिज्य संघको हलमा गर्न लागेको कार्यक्रम असफल बनाउन एमाले कार्यकर्ता सक्रिय भएको उनले आरोप लगाएका हुन् । गुरुङले एमाले कार्यकर्तालाई जेनजीसँग धेरै पङ्गा नलिन चेतावनीसमेत दिए ।
‘हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, तर यसले हाम्रो कदम रोक्दैन’, उनले भनेका छन्, ‘हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, तिमिहरुले गलत पुस्ताको युवासँग दुश्मनी लिदैछौ।’
एमाले कार्यकर्ता र जेनजीहरूबीच पछिल्लो समय लफडा चलिरहेको छ । एकले अर्कालाई निषेध गर्ने तहमा पुगेका उनीहरू आरोप-प्रत्यारोप गरिरहेका छन् । बारा, विराटनगर, सुर्खेत, धनगढी लगायतका स्थानमा जेनजी र एमाले कार्यकर्ता झडपमा समेत उत्रिएका थिए ।
टिप्पणीहरू