बेलायतमा मनिषालाई मानार्थ विद्यावारिधी

बेलायतमा मनिषालाई मानार्थ विद्यावारिधी

बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले बलिउड अभिनेत्री मनिषा कोइरालालाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । 

चलचित्र क्षेत्रमा पुर्याएको योगदान, क्यान्सरपछि पुनरागमन र दुनियाँलाई दिएको प्रेरणाको सम्मान गर्दै विश्वविद्यालयले सो उपाधि प्रदान गरेको जनाइएको छ । मनिषाले समाजिक सञ्जालमा उपाधि ग्रहण गर्दै गरेको भिडियो शेयर खुशी व्यक्त गरेकी छन् ।

‘म यहाँ शिक्षाको परम्परागत बाटो भएर आएको व्यक्तिको रूपमा होइन, जीवनमा कडा परिश्रम, असफलता, लचिलोपन र सेवामार्फत सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु’, उनले भनेकी छन्, ‘मेरो जीवनको कथामा मूल्य देख्नुभएकोमा ब्राडफोर्ड विश्वविद्यालयलाई धन्यवाद !’

स्मरण रहोस्, बलिउड र हलिउडका थुप्रै चलचित्रमा काम गरिसकेकी मनिषालाई ०६९ मंसिरमा क्यान्सर लागेको थियो । त्यतिबेला नर्भिक हस्पिटलमा समान्य उपचारपछि मुम्बईको जसलोक अस्पताल लगिएको थियो । क्यान्सरको अन्तिम चरणमा पुगेर पनि बाँच्न सफल भएकी मनिषाले यसबीचका अनुभवलाई समेटेर पुस्तकसमेत सार्वजनिक गरेकी छन् ।

मनिषाले चलचित्र करिअरलाई अघि बढाउन नसक्ने चर्चा चलिरहेकै बेला उनले गत वर्ष ‘हिरामण्डीः दी डायमण्ड बजार’बाट शानदार कमब्याक गरेकी थिइन् । मल्लिकाजानको भूमिका देखिएकी मनिषालाई धेरै रुचाएका थिए । दुई सय करोडमा बनेको उक्त चलचित्र (वेब सिरिव)ले ६०० करोडभन्दा बढीको कलेक्नशन गरेको थियो ।

टिप्पणीहरू