एमालेको सदस्यता नवीकरण गर्दा परीक्षा दिनुपर्ने
अब नेकपा एमालेको सदस्यता नवीकरण गर्दा परीक्षा दिनुपर्ने भएको छ । पार्टी महासचिव शंकर पोखरेलको उपस्थितमा आज सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले यस्तो निर्णय गरेको हो ।
जसअनुसार अब सदस्यता नवीकरणपूर्व अनिवार्य रुपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्था गरिने भएको छ । बैठकले सदस्यताको अनलाइन अभिलेखीकरणमा जोड दिँदै मतदाताको ६ प्रतिशत संख्या पुर्याइछोड्ने निर्णय पनि गरेको छ ।
यस्तै, सबै ९करिब १७ हजार० टोलमा कमिटी गठन, सुचारु र अधिवेशन गर्ने, समुदायसँग जनसंगठन अभियान चलाउने, ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन तथा हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ ।
पछिल्लो समय पार्टी र नेतृत्वमाथि भइरहेको हमला र गलत अफवाहको जमेर प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिने र तयारी अझै नपुगेकोसमेत निष्कर्ष निकालिएको छ । जरा अभियानजस्तै अभियान लिएर जनताको घरघरमा पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
बैठकले महाधिवेशन तयारीका सन्दर्भमा विधान संशोधन र संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई रिपोर्ट, आवश्यक विवरण र सुझाव दिने पनि निर्णय गरेको छ ।
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका काममा व्यवस्थित योजनासाथ विभागलाई सक्रिय बनाउने र एमालेका खास मूल्यहरु (कोर भ्यालुज) स्थापित तथा डिजिटलाइज प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउनेसमेत निर्णय भएको छ ।
टिप्पणीहरू