नाम सैनिक कल्याण, काम पूरै बदनाम

नाम सैनिक कल्याण, काम पूरै बदनाम

मुलुककै सबैभन्दा सुशासित र पारदर्शी संस्थाको रूपमा परिचित नेपाली सेनामा पछिल्लो समय व्यापक घोटालाका घटना हुन थालेका छन् । निर्माणदेखि लिएर खरिदसम्ममा अनियमितता हुने रोग पुरानै हो । सैनिक कल्याणकारी कोषको रकम अनियमितता गरेको ठहरसहित सैनिक अदालतबाट हालै एक जर्नेल र मेजर सेवाबाट बर्खास्त भएका छन् ।

सोही कोषबाट मुलुकको विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पमा भने घप्लाबाजी हुने गरेको पाइएको छ । बेच्नका लागि ल्याइएको पेट्रोल हिनामिना गरेर  कर्मचारीले गोजी गरम गरिरहेका छन् । जसको ज्वलन्त उदाहरण हो– सुनसरीको इटहरीस्थित रिपुमर्दिनी पेट्रोल पम्प ।

प्रबन्धककै मिलेमतोमा इन्धन अपचलन भइरहेको छ । २०८० कात्तिक १ गतेदेखि सञ्चालित सो पम्पमा सबै अवकाशप्राप्त सैनिक कर्मचारी छन् । ती कर्मचारीको करार अवधि पाँच वर्षको हुन्छ । कल्याणकारी कोषबाट चलाइएको सो कोषका प्रबन्धक अवकाशप्राप्त प्रमुख सेनानी ईश्वर थापा हुन् ।

उनकै निगरानीमा त्यहाँ इन्धनमा घोटाला भइरहेको छ । पम्पका लेखापाल मानार्थ उपसेनानी प्रेम कार्की र तेल आपूर्ति हेर्ने हवल्दार राजन कार्कीसँग मिलेर उनले दिनहुँ लाखौंको इन्धन गायव पार्ने गरेको स्रोत बताउँछ । इन्धन घोटालाको केही प्रमाण फेला परेको छ ।

पम्पमा दैनिक पाँच हजारदेखि २० हजार लिटरसम्म इन्धन आउँछ । हवल्दार कार्कीले इन्धन डिस्पेन्सरमा नखन्याई सीधै ट्यांकरबाट ग्यालेनमा भरेर बेच्ने गरेका छन् । दिनहुँ त्यसरी पचासौं लिटर इन्धन हिनामिना हुन्छ । त्यसरी बेचिएको इन्धनको कुनै हिसाबकिताब छैन ।

सो रकम प्रबन्धक थापासम्म पुग्ने गरेको छ । पर्दाभित्र बसेर उनले इन्धन चोर्न सिकाउने गरेका छन् । पम्प सञ्चालनको २० महिनामा करोडौंको घोटाला भइसकेको छ । ‘इन्धन ल्याएपछि पहिले डिस्पेन्सरमा खन्याउनुपर्छ तर त्यसो नगरी सीधै ट्यांकरबाट ग्यालेनमा भरिन्छ र सवारी साधनमा हालिन्छ । त्यसरी कति खान्छन्– खान्छन् । चोरीको इन्धनबाट आएको पैसा प्रबन्धकसम्म पुग्छ ।’

यता, कुपन सिष्टममा पनि मिलीभगत गरेर इन्धन हिनामिना गरिँदै आइएको छ । दिनहुँ ठूलो परिमाणमा इन्धन लिने कम्पनी र स्कूलका गाडीलाई कुपनमार्फत इन्धन बेचिन्छ । धेरै वटा बस र गाडी भएका कम्पनीले पेट्रोल पम्पसँग मासिक, अर्धमासिक रूपमा भुक्तानी हुनेगरी लिखित सम्झौता भएको हुन्छ । तर, स्कूल बसका ड्राइभरसँग मिलेर पम्पका कर्मचारीले इन्धन हिनामिना गर्दै आएका छन् ।

एक सय लिटरको सम्झौता भएकोमा उनीहरूले ५० लिटर मात्रै हाल्छन् । बाँकीको नगदमा परिवर्तन गरेर ८५ प्रतिशत चालक र १५ प्रतिशत उनीहरूको खल्तीमा जाने गरेको छ । संगठनको खातामा जानुपर्ने पैसासमेत मिलेमतोमा भागबण्डा गरेर खाइदिन्छन् ।

आइसीमा मनपरी

नेपाल–भारत सीमा क्षेत्रमा पेट्रोल पम्प रहेकाले त्यहाँ भारतीय रूपैयाँ बढी प्रयोग हुन्छ । इन्धन खरिद गर्न आउने अधिकांशले भारतीय रकम दिन्छन् । तर, त्यसमासमेत घोटाला गर्छन् । एक सय भारतीय रूपैयाँ साट्दा नेपाली १६० हुन्छ । उनीहरूले १५० मात्र दिन्छन् । १० रूपैयाँ तिनको खल्तीमा जान्छ । एक सय रूपैयाँ साट्दा १० रूपैयाँ खाइदिएपछि स्थानीयले गुनासो गर्न थालेका छन् ।

सिसिटिभीमा छेडखानी

सैनिक पेट्रोल पम्प भएकाले त्यहाँ ग्राहकको एकदमै चाप हुन्छ । रोचक प्रसंग के भने, दिनभर हजारौं ग्राहकको आवतजावत हुने पेट्रोल पम्पको सिसिटिभी सद्दे छैन । जानाजान बिगारेर राखिएको छ । सिसिटिभीमा स्पष्ट दृश्य देखिँदैन, एकदमै धुमिल छ । त्यहाँका प्रबन्धकले बिग्रेको भने पनि जानाजान सिसिटिभी बिगारेको हुनुपर्छ ।

इन्धनमा घोटाला हुने थाहा पाएपछि एजुकेट कलेज र प्रिमियर कलेजका सञ्चालकले प्रबन्धकसँग गुनासो गरेका थिए । उनीहरूले सिसिटिभी फुटेज देखाउन भन्दा प्रबन्धकले मानेनन् । सोही पम्पबाट पेट्रोल खरिद गरिरहेका एक कलेजका सञ्चालकसँग कुराकानी गर्दा उनले सेनाबाट त्यस्तो हर्कत हुनु एकदमै लज्जास्पद भएको बताए । ‘आर्मीप्रति धेरै विश्वास लाग्थ्यो । तर, यहाँ त झन् डरलाग्दो घोटाला हुने रहेछ । इन्धन नै हिनामिना गरिदिन्छन् अनि हामीले कसरी विद्यालय चलाउने ? विद्यार्थीले तिरेको फिसबाट स्कूल चलाउनुपर्छ, शिक्षकलाई तलब दिनुपर्छ । यसरी त हामी डुब्छौं ।’

प्रबन्धक थापाले इन्धनमा घोटाला गर्नुपछाडिको कारण उनका छोरा हुन् । छोरा फिलिपिन्समा एमबिबिएस अध्ययन गरिरहेका छन् । छोरालाई अध्ययन खर्च जुटाउनका लागि उनले भ्रष्टाचार गरिरहेको प्रष्ट छ । उनले मासिक लाखौं रूपैयाँ छोरालाई फिलिपिन्स पठाउँछन् । सो रकम इन्धन अनियमितताको हो । भन्छन्, ‘यति ठूलो ट्याङ्करको पाइप ग्यालेनको मुखमा अट्छ ? हामीले बोतलमा इन्धन दिँदैनौं । नापेर अन्य भाडामा दिन्छौं ।’
 

टिप्पणीहरू