रुपन्देहीमा उपनिर्वाचनको तयारी, घोषणा गरिँदै उम्मेदवारी

रुपन्देहीमा उपनिर्वाचनको तयारी, घोषणा गरिँदै उम्मेदवारी

गणतन्त्रमा जोकोहीलाई बोल्न र पद ताक्ने छुट छ । गणतन्त्रात्मक व्यवस्थाको विशेषता भनेकै यही हो । सयौं जना अंगभंग, दर्जनौं घाइते, कयौँले जेलनेल सहेर, कतिपयले सहादत प्राप्त गरेर आएकोे यो व्यवस्थालाई यतिबेला धेरैले ठट्टा मानिरहेका छन् । यतिसम्मकी हिजोआज कसैलाई कुनै चिया वा कफीसपमा बसेर नेता बन्ने झोँक चलेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बन्न भनि सामाजिक सञ्जालमा पोस्टाइरहेका हुन्छन् । 

२–४ जना पत्रकार जम्मा गरेर पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा भइरहेको छ । कतिपय उम्मेदवार भनिएका राजनीतिक बार्गेनिङको दाउमा छन् । राजनीतिमा भइरहेको यस्तो भद्धा मजाकले सच्चा राजनीतिकर्मीको हुर्मत लिइरहेको देखिन्छ । आश्चर्यको विषय के भने, रुपन्देही क्षेत्र नम्बर ३ को भौगोलिक र राजनीतिक सीमानासमेत थाहा नभएकाहरुले उम्मेदवारी घोषणा गरेका छन् । यसले सिंगो रुपन्देही क्षेत्र नम्बर ३ को  अपमान भएको बताइन्छ ।

सामाजिक सञ्जालमा हल्ला गर्दैमा निर्वाचन जितिने होइन । फेसबुकमा बेस्ट अफ लक, अग्रिम शुभकामना, हामी साथमा छौं, अग्रिम बधाई, तपाईँको जित पक्काजस्ता कमेण्ट लेख्ने शेयर गर्नेहरुमध्ये मतदाता कति होलान् ? त्यसको आकलन नगरी सामाजिक सञ्जालमा यति जनाले फलो गरे, यति जनाले कमेण्टमा लेखे, मैले त चुनाव जितिसकेँ भन्दै हल्ला गर्नुको पनि तुक छैन । रुपन्देही क्षेत्र नम्बर ३ को मतदाताको मनोकांक्षा बेग्लै छ । 

यहाँको सामाजिक संरचना पनि गज्जबकै छ । यहाँका मतादाताको सोच त झनै रहस्यमय छ । गत निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसँग के कमी थियो र उनले निर्वाचन हारे ? निर्वाचनताका उनीसँग सत्ता थियो, प्रहरी प्रशासन थियो, दलबल थियो । कांग्रेस, माओवादी, नेकपा एस, लोसपालगायतको राजनीतिक शक्ति थियो । टोलटोलमा सयौं युवाहरुको दस्ता परिचालन थियो । भैरहवाका चार तारे होटलहरुमा महिनौंसम्म जोकोहीलाई खाना बस्न निःशुल्क गरियो । दशैँ, तिहार, छठको बेला चन्दा माग्नेहरुलाई लाखौं चन्दा बाँडिएकै थियो ।

भैरहवा राजनीतिक तरलता भएको ठाउँ होइन । जहाँ कसैले गफ लाउँदैमा, सपना बाड्ँदैमा मतदाता बहकिएर भोट दिइहाल्छन्, यो यस्तो ठाउँ हो जहाँ बोहोराले पनि पटकपटक परीक्षा दिनुपरेको थियो । यो यस्तो ठाउँ हो जहाँ नेपाली समाज र मानवीय जीवनलाई मिहीन ढंगले बुझ्न सक्ने खुबी भएका विद्वानद्वय धनपति उपाध्याय र घनश्याम भुसाललाई पनि हम्मेहम्मे परेको थियो । 

मतदातालाई कन्भिन्स गर्ने वाकपटुता थियो । भविष्यको प्रधानमन्त्री र कांग्रेसको भावी सभापति भनेर प्रचार गरिएकै थियो । तैपनि उनका प्रतिस्पर्धी दीपक बोहोराले एक शब्द नबोली निर्वाचनमा पराजित गरे । चुनावको समय एक शब्द नबोली नमस्कार गरेकै भरमा राप्रपाका वरिष्ठ नेता बोहोराले निर्वाचन जितेकोमा सामाजिक सञ्जालमा दुई हजारले लाइक कमेण्ट गरेका थिए । फेसबुकमा लोकप्रियता पाएकै भरमा रुपन्देही ३ मा चुनाव जित्ने आकलन गर्नु कतिको उचित होला ? त्यो उम्मेदवारी दिने मान्छेले चुनावपछि थाहा पाउनेछन् । 

तर, यति भन्न सकिन्छ, भैरहवा राजनीतिक तरलता भएको ठाउँ होइन । जहाँ कसैले गफ लाउँदैमा, सपना बाड्ँदैमा मतदाता बहकिएर भोट दिइहाल्छन्, यो यस्तो ठाउँ हो जहाँ बोहोराले पनि पटकपटक परीक्षा दिनुपरेको थियो । यो यस्तो ठाउँ हो जहाँ नेपाली समाज र मानवीय जीवनलाई भूमिहीन ढंगले बुझ्न सक्ने खुबी भएका विद्वानद्वय धनपति उपाध्याय र घनश्याम भुसाललाई पनि हम्मेहम्मे परेको थियो । 

कुन पार्टीबाट को बलियो ?

राप्रपाले आफ्नो विरासत जोगाउन कात्तिक १७ गते हुने उपनिर्वाचनमा क्याप्टेन गौरव बोहोरा, आईटी इञ्जिनियर प्रज्वल बोहोरा, पार्टीका केन्द्रीय सदस्यद्वय स्वाति थापा र वसन्त शाही, जिल्ला सभापति सागरप्रताप राणा र अधिवक्ता दिलिप मल्लिकलाई उम्मेदवारको लागि सिफारिस गरेको छ  । 

यीमध्ये सबैभन्दा बलियो उम्मेदवार स्वाति देखिन्छिन् । गत निर्वाचनमा राप्रपा–एमालेको संयुक्त चुनावी कमाण्डर बनेर पोस्ट कोभिडको कारण भ्वाइस रेस्टमा रहेका तत्कालीन उम्मेदवार बोहोराको तर्फबाट सबै ठाउँमा भाषण गर्ने, चुनावी रणनीति बनाउने कार्यमा उनको खटन उल्लेखनीय थियो । तत्कालीन निर्वाचनमा एमालेभित्रको अद्भूत एकतासहितको प्रतिबद्धता, काँग्रेसभित्रको एन्टी खाण ग्रुपको सक्रियता, बोहोराको सम्बन्ध र प्रचार व्यवस्थापन यी चार साधनलाई साध्य बनाएकै कारण गत निर्वाचनमा बोहोराले निर्वाचन जितेका थिए । 

एमालेको स्थानीय नेतृत्व हितराज पन्थी, हरि अधिकारी, भरत पोखरेल, नरबहादुर घर्ती, तुलसी चौधरीहरुको चुनावी रणनीतिमा बोहोराको ‘बुढीऔंला देखाएर गरेको एस’ भन्ने भावमा स्वाति, निरञ्जन थापा, प्रदीप उदय, वसन्त, ताहिर अलि, सागर राणाहरुको खटनपटन पनि महत्वपूर्ण रहेको थियो । एक्लै चुनावी मैदानमा होमिने तयारी गरेको राप्रपा सहानुभूति मत पाउने आशमा छ । त्यसको लागि स्वर्गीय बोहोराका छोरा गौरव र प्रज्वल टिकट पाउने दौडमा छन् । 

उनीहरु दुवै दाजुभाइ मिलेर एकभई आएमा पार्टीले अन्यलाई टिकट नदिने भएको छ । अर्कोतर्फ दुवै जना टसमस नभएमा पार्टीले केन्द्रीय सदस्य स्वातिलाई टिकट दिने वा अन्य दललाई समर्थन गर्ने भन्ने दोधारमा छ । राप्रपाबाट उम्मेदवार भएका अन्य व्यक्तिको आआफ्नै दाउ छ । सिफारिस भएका वसन्त तत्कालै चुनावी दौडमा जाने सोचमा छैनन, उनले निरन्जनको प्रतिनिधित्व गर्दै सिफारिसमा नाम राखेका हुन् । अर्का सिफारिस भएका अधिवक्ता मल्लिक गत स्थानीय निर्वाचनमा सिदार्थनगर नगरपालिकाको वडा नम्बर ६ मा वडाध्यक्षमा पराजित व्यक्ति हुन् । 

उता, पार्टी जिल्ला सभापति सागर भने पार्टीभित्र किचलो सिर्जना गरेर कोही पनि ठीक छैनन् भन्ने साबित गर्न चाहन्छन् । ०५४ को उपनिर्वाचनमा तत्कालीन एमाले उम्मेदवारलाई सघाएर स्थानीय तहको मेयर बन्न सफल राणाले यो उपनिर्वाचनलाई पनि आफूअनुकुल उपयोग गर्न चाहन्छन् । उनी उपनिर्वाचनमा एमाले वा काँग्रेसका उम्मेदवारलाई सघाएर आफू ०८४ को स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयर बन्ने योजनामा छन् । राणा यसअघि दुईपटक उक्त नगरको मेयर बनिसकेका छन् । 

पार्टीका जिल्ला सभापति भएर उनी मिलाउने भन्दापनि लडाउने खेलोमा लागेका छन् । पार्टीभित्र जति लड्यो, त्यो उनको लागि फाइदाजनक हुन्छ । किनकि, ०५४ को रणनीतिअनुसार उनी यो उपनिर्वाचनलाई उपयोग गर्ने दाउमा छन् । खाणलाई कानुनी अड्चन नपरेमा काँग्रेसबाट टिकट उनले पाउने पक्का छ । उनले टिकट पाएमा अहिले उम्मेदवारको चर्चामा रहेका प्रमोदकुमार यादव, अधिवक्ता दिनेश त्रिपाठी, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल चुप बस्नेछन् । 

खाण यतिबेला शेखर कोइराला लाइनमा गएको कारण पनि गत निर्वाचनमा असहयोग गरको तत्कालीन एन्टी खाण ग्रुपले सहयोग गर्ने निश्चित छ । यद्यपि, खाणको टिकट रोकाउन अधिवक्ता त्रिपाठीसहित एउटा समूहले पार्टी सभापति शेरबहादुर देउवाकहाँ लबिङ्ग गरिरहेको छ । काँग्रेसको चर्चामा आएका उम्मेदवारहरुमा खाण सबैभन्दा बलियो मानिन्छन् । उनले टिकट नपाएको अवस्थामा पूर्वसांसद यादवले टिकट पाउने सम्भावना छ । 

यता, एमालेबाट पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टीको स्थानीय तहमा भट्टराईलाई उम्मेदवार बनाउने लगभग तयारी सकिएपनि व्यवसायी शशि पौडेलले बालुवाटार भेटघाटलाई तीब्रता दिएपछि एमालेभित्र तरङ्ग पैदा भएको छ । नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री हकिकुल्लाह खान, सोनिया यादव, तिरबहादुर रोका र मनिष कुमार जोशीको नाम चर्चामा छ । 

रास्वपा र जनमतले उम्मेदवार खोजिरहेको छ । यी दुवै पार्टी अन्य दलका नाम चलेका वा स्वतन्त्र पेशा व्यवसाय गर्नेलाई उम्मेदवार बनाएर भोट तान्ने दाउमा छन् । रास्वपाले सहकारी अभियन्ता ज्ञानु पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । पौडेलले केही दिनअगाडि रास्वपाको सदस्यता लिएकी थिइन् । पार्टी सभापति रवि लामिछाने सहकारी काण्डमा कारागार चलान भएको अवस्थामा सहकारी अभियन्तालाई उम्मेदवार बनाउँदा मतदातामा सकारात्मक सन्देश जाने ध्येयले उक्त पार्टीले पौडेललाई उम्मेदवार बनाउन लागेको हो ।  

रास्वपाबाट सागर ढकाल, मधु अर्याल, ओम पौडेल, प्रकाश ज्ञवाली पनि उम्मेदवार बन्ने योजनामा छन् । राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी पार्टीका केन्द्रीय सल्लाहकार तथा पुराना वामपन्थी नेता हुन् । माओवादीले अझै उम्मेदवार टुंगो लगाएको छैन । मधेशवादी छ दलीय मोर्चाले धनिराम चौधरी र तुलसी चौधरीमध्ये एकजनालाई उम्मेदवार बनाउने भएको छ । स्वतन्त्रबाट बुटवलका लेखनाथ गैरे, भैरहवाका अजय गुप्ता, मणिग्रामका सन्तोष गिरीले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गरिसकेका छन् ।

टिप्पणीहरू