मन्त्रीद्वयलाई बर्खास्त गर्न माग

मन्त्रीद्वयलाई बर्खास्त गर्न माग

विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ । 

मन्त्रीद्धय भ्रष्टाचारमा संलग्न भएको समाचार र अडियो छताछुल्ल भइसक्दा समेत पदमै रहिरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विवकेशीलले तुरुन्त बर्खास्त गरी कारबाहीको माग गरेको हो । 

‘भ्रष्टाचारजस्तो जघन्य अपराधमा मुछिएका दुवै मन्त्रीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।  

दुवै मन्त्रीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनि उनीहरुलाई बर्खास्त नगर्नुले यसको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीमाथि पनि फर्किन सक्ने विवेकशीलको ठहर छ । 

यो प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न विवेकशीलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गराएको छ । 

साथै, भ्रष्टाचारको दर्जनौं प्रकरण र काण्डको न्यायिक निरुपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरु प्रत्यक्ष संलग्न भएको काण्डले सुशासनको सवालमा मुलुक अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको फेरि पनि पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू