रास्वपालाई प्रधानमन्त्री ओलीको प्रश्न: भीरमा भैँसी लैजाने अनि लड्यो भनेर निहुँ खोज्ने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको दाबी गर्नुभएको छ । सहकारी काण्डमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन चलेको हस्ताक्षर अभियानतर्फ संकेत गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
सहकारीका करोडौँ झ्वाँम पार्ने अनि अन्याय भयो भन्दै हस्ताक्षर गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गर्नुभयो । उहाँले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिनुभयो ।
‘भ्रष्ट तत्वहरु हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन् । सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय पर्यो भन्ने । हामीले गरिदिएको हो अन्याय’, ओलीको आक्रोश छ, ‘अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो ? मुद्दा लड्न जाउ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ । मुद्दा लड्न पाइन्छ ।’
रास्वपाको गतिविधिलाई 'भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने' हर्कतको संज्ञा दिनुभएका उहाँले त्यसो नगर्न नगर्न चेतावनी पनि दिनुभयो ।
गृहजिल्ला झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले आपत्ति जनाउँदै भन्नुभयो, ‘अनि जे भएपनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने । मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने । यस्तो पनि हुन्छ ?’
प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरुले अफवाह फैल्याइरहेको आरोप लगाउनुभयो ।
टिप्पणीहरू