ग्लोबल बैंक दोस्रो पटक ‘बेष्ट बैंक’
ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागजिनको ‘बेष्ट बैंक अवार्ड, २०२५’ बाट बैंक सम्मानित भएको हो । गत वर्ष पनि बैंक उक्त अवार्डबाट सम्मानित भएको थियो ।
योसँगै विश्वासनीयता, वित्तिय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ्गलगायत मापदण्डहरुमा बैंक मुलुककै उत्कृष्ट सावित भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले प्राप्त अवार्डले बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहन मिलेको बताए । यो सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने सरकार, राष्ट्र बैंकलगायत अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी र ग्राहकप्रति उनले आभार व्यक्त गरे ।
ग्लोबल फाइनान्स म्यागजिनले ग्लोबल बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई पनि सम्मान गरेको छ ।
यद्यपि, यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुने ग्लोबल बैंक पहिलो नेपाली बैंकसमेत हो । यसअघि पनि बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भइसकेको छ ।
देशभर फैलिएको ग्लोबल बैंकको तीन सय ५२ शाखा कार्यालय, तीन सय ८५ एटिएम, एक सय ५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार बढी सेवा केन्द्र छन् । साथै, बैंकले विश्वका विभिन्न देशबाट मुलुकमा रेमिट्यान्स भित्र्याउने कामसमेत गर्दै आइरहेको छ ।
टिप्पणीहरू