दिल्ली अझै नजिक कि दूर ?
पहिले दिल्ली गएर मात्र काम थाल्ने परम्परा निर्वाह दक्षिणकै कारण असफल भएपछि अमेरिकाबाट विदेश यात्रा शुरु गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली गत साता स्पेन पुग्नुभयो । असार १४ गते त्यता जानुभएका उहाँले यसअघि अमेरिका, थाइल्याण्ड र चीन भ्रमण गरिसक्नुभएको छ ।
नेपालमा हरेक पटक नयाँ प्रधानमन्त्री आएसँगै पहिलो विदेश भ्रमणबारे बहस हुने गर्छ । अपवादबाहेक प्रधानमन्त्रीहरूले उतैबाट भ्रमण थालेको इतिहास पनि छ । यसलाई भारतले पनि प्रतिष्ठाको विषय बनाउने गरेको देखिन्छ । तर, ठीक एक वर्षअघि नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएका ओलीलाई भने दिल्ली जाने साइत अझै जुरेको छैन ।
दुई–दुई पटक परराष्ट्रमन्त्री आरजू राणा देउवालाई निम्तो माग्न पठाउँदासमेत मोदीको मन नपग्लिएपछि बाध्य भएर परम्परा तोडेका प्रधानमन्त्री ओलीले अब भने दिल्ली जाने रहर गर्न छोडेको उहाँ निकटहरूको भनाइबाट थाहा हुन्छ । प्रधानमन्त्रीको सबैभन्दा नजिकका एकजना कुटनीतिज्ञले निकटहरूसँगको छलफलमा भारत भ्रमणको सम्भावना टरेको अर्थ लाग्नेगरी घटनाक्रमको विश्लेषण गरेको समाचार स्रोत बताउँछ ।
उनले भन्ने गरेका छन्- उहाँहरु सरकारमा गएको एक वर्ष कटिहाल्यो, अब एक वर्ष बाँकी हो, बोलाए ठीकै छ नत्र मरिहत्ते गरेर जानुपर्ने केही छैन ।
काश्मिरको पहलगाममा आतंकवादी हमलापछि ओलीले ३ पटक मोदीसँग फोनवार्ता गरेको र कुराकानी ठीकै ढंगले अघि बढेको भए पनि बीचमा भारत–पाकिस्तान तनावले टुटेको संवाद जोडिएर बजेटपछि भ्रमण सम्भव हुने आश बालुवाटारले अझै मारिसकेको छैन । त्यसनिम्ति अहिले पनि भित्रभित्र गृहकार्य चलिरहेको भनिएको छ ।
नेपालले भारतीय पक्षलाई केही महत्वपूर्ण प्रस्ताव गरेको र भ्रमणका दौरान ‘ब्रेक थ्रु’ हुनेगरी सहमति नहुने स्थितिमा ‘समोसा खान’ मात्र किन जाने भन्ने कोर टिमको टिप्पणी स्रोतले सुनायो ।
एक वर्षपछि उनीहरूकै रुचिका मान्छे प्रधानमन्त्री बन्ने भएकाले सरकार फेरबदलको खेलमा दक्षिण लाग्दैन भन्ने आत्मविश्वासका कारण बालुवाटार ढुक्क देखिन्छ । यसबीच राजावादी आन्दोलन तुहिनु र प्रचण्डको बोली फेरिनुले पनि सरकार ढाल्ने खेल रोकिएको अनुमान गर्न सकिन्छ । यसअघि राजावादीलाई दक्षिणले नै बोकेको आशंका सरकारमा बस्नेहरूले गरेका थिए ।
यता, शेखर कोइराला कांग्रेसमा ‘कुनामा बसेर दुनामा खाने’ हैसियतमा रहेकाले पनि ओली र उहाँको टिमलाई थप निर्धक्कको स्थिति बनेको देखिन्छ ।
टिप्पणीहरू