'फरार' अध्यक्ष सामाजिक सञ्जालमा प्रकट
सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको लफडापछि 'फरार' भनिएका जनता समाजवादी पार्टी (जसपा), नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादव सामाजिक सञ्जालमा प्रकट भएका छन् ।
आज सामाजिक सञ्जालमा फोटो र भिडियो शेयर गर्दै उनले आफूले कुनै अपराध नगरेको र कहीँकतै नभागेको दाबी गरे । यादवले एसपी खड्कालाई ‘तँ’ भन्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि शुक्रबार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरिरहेको प्रहरीले अझैसम्म भेटाउन सकेको छैन ।
यादवविरुद्ध दुई वटा मुद्दा लगाउने तयारी गरिरहेको प्रहरीले यसअघि उनीविरुद्धका ६ वटा मुद्दाको समेत फेहरिस्त सार्वजनिक गरेको छ । कतिपय मिडियाले फरार लेखेपछि आज यादव आफैँले फेसबुकमार्फत् छोराको उपचार गराइरहेको र चाँडै सर्लाही फर्किने बताएका छन् ।
‘मैले कुनै अपराध गरेको होइन, म निमुखा जनता एंव शोषित पीडित र विपन्न वर्गको पक्षमा आवाज उठाएको छु’, उनले भनेका छन्, ‘जिल्लामा भइरहेको बेतिथि, भ्रष्टाचार र लुटतन्त्रको विरोधमा आवाज उठाउँदैमा राज्यले अपराधी ठानेर मुद्दा चलाउने हो भने म सय वटा मुद्दा खेप्न पनि तयार छु ।’
डाकाशैलीमा मध्यराती घरमा घुसेर प्रहरीले आफ्नो छोरामाथि निर्घात कुटपिट गरेको यादवको दावी छ । थप भनेका छन्, ‘प्रहरीको कुटपिटबाट छोरोको गर्धनको एउटा नशा फाटेको छ, त्यसपछि गाउँलेहरुले ढुंगामुढा गरेर प्रहरीलाई लखेटे । अहिले म त्यसैको उपचार गराउन आएको छु, म फरार भएको होइन, मैले कुनै अपराध गरेको छैन, म एउटा मधेशको सिपाही हुँ, रहिरहन्छु ।’
टिप्पणीहरू