पतञ्जलीका मुख्यपात्रको अर्को पनि अपराध

पतञ्जलीका मुख्यपात्रको अर्को पनि अपराध

जसरी सहकारी प्रकरणका नाइके जिबी राई फरार छन्, उसैगरी पतञ्जली जग्गा प्रकरणमा मुछिएका शालिग्राम सिंहको भागभाग छ । सोही प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा  छाड्दा पूर्वप्रधानमन्त्री, मुख्यसचिवदेखि सचिवहरूलाई गुमराहमा पारेर काम फत्ये गराउने सिंहविरुद्ध अर्काे पनि मुद्दा चलाउने तयारी भइरहेको छ ।

धनुषाको एउटा सामान्य परिवारमा जन्मिएका शालिग्रामको नक्कली प्रमाणपत्रउपर अख्तियारले छानबिन गरिरहेको छ । कांग्रेस नेता विमलेन्द्र निधिमार्फत् नेपाल इञ्जिनिरिङ काउन्सिलको उपाध्यक्ष बनेका उनी महेन्द्रनारायण निधिले स्थापना गरेको बृहत्तर जनकपुर परिषद्का अध्यक्षसमेत थिए । जनकपुर इञ्जिनियरिङ कलेजसमेत उनकै कारण टाट पल्टिन पुगेको जानकारहरू बताउँछन् । उनले जुन संस्थाको नेतृत्व गरे, ती सबै डुबे । २८ पुस २०७४ मा ४ वर्षे कार्यकालका लागि नियुक्ति खाएका उनकै पालामा द पिक हस्पिटालिटी प्रालिसँग सम्झौता गर्दा कीर्ते कागजात तयार पारेको प्रमाण जनआस्थासँग सुरक्षित छ । भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शन गर्न आउने तीर्थालुका लागि बनाइदिएको धर्मशालालाई तिरुमाला तिरूपती देवस्थानम् यात्रीनिवासको नामले चिनिन्छ । गृहमन्त्री रमेश लेखकका नातेदार दिपक लेखकको नाममा रहेको पिक हस्पिटालिटी प्रालि २० वर्षका लागि कौडीको भाउमा लिजमा दिइएको र यसनीम्ति कीर्ते कागजात तयार गरिएको भेटिएको छ । 

०७७ पुस ८ गते परिषद्अन्तर्गत सञ्चालित जनकपुर यात्री निवास व्यवस्थापन निम्ति प्रतिवेदन पेश गर्न उनै सिंहकै अध्यक्षतामा तीन सदस्यीय सुझाव समिति गठन भएको थियो । सो समितिमा बल्वा नगरपालिका प्रमुख विनोदकुमार यादव र चार्टर्ड एकाउण्टेण्ट मनोजकुमार साह सदस्य थिए । जहाँ शालिग्राम बाहेक दुई सदस्यले हस्ताक्षर गरेका छैनन् । सार्वजनिक खरिद ऐनमा नटेकी कार्यकारी निर्देशक बलराम ठाकुरले ३० लाख १२ हजारमा लिजमा लगाइनुपर्नेमा कम रकम लिएको कागजात अध्ययन गर्दा पुष्टि हुन्छ । पिक हस्पिटालिटीले टेण्डर पाएको सूचना २० चैत ०७७ मा सार्वजनिक गरिएको थियो, जसमा प्रतिस्पर्धी दुई फर्मको नाम उल्लेख थिएन । यसरी मिलेमतोमा टेण्डर दिइएको सम्बन्धी अनुसन्धान अख्तियारले अन्तिम चरणमा पु¥याएको छ । धरौटी खातामा जम्मा गर्नुपर्ने रकमसमेत सिंहले व्यक्तिगत खातामा दाखिला गराएको पाइएको छ ।

धरौटीबापतको ३४ लाख तीन हजार पाँच सय ६० रूपैयाँ बैंक खातामा नराखी तत्कालीन कार्यकारी निर्देशक ठाकुर र अध्यक्ष सिंहले दुरूपयोग गरेको कोषका कर्मचारीहरु बताउँछन् । यी दुईले नाम मात्रको उपभोक्ता समिति बनाएर ४ करोड हिनामिना गरेको, २ करोड बराबरको जिन्सी सामग्री र सम्पत्ति नै गायब गराएको विषयमासमेत अख्तियारले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पु¥याएर मुद्दा विशेष अदालतमा लैजाने तयारी गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू