विदेशी ऋण नलिन मन्त्रीलाई हर्क साम्पाङको पत्र
धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले विदेशी ऋण नलिन खानेपानीमन्त्री प्रदीप यादवलाई पत्र लेखेका छन् ।
धरानमा खानेपानी समस्या समाधान गर्न संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा चार करोड विनियोजन गरेको तर बाँकी रकम एडिबीबाट ऋण लिने सुन्नमा आएको भन्दै उनले त्यसो नगर्न आग्रहसहित पत्र लेखेका हुन् । देशलाई विदेशी ऋणको भारी बोकाउनु उचित नहुने मेयर साम्पाङको भनाइ छ ।
उपमहानगरले पहिले लिएको एडिबीको ऋण तिर्न बाँकी रहेको जनाउँदै उनले राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अघि बढाउन अनुरोध गरेका छन् । विदेशी ऋण लिएर पानी खानुभन्दा खोला-खोल्सीको पानी खानु उचित हुने उनको तर्क छ ।
‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडिबीको ऋणसमेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनुहोला अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु,’ पत्रमा उल्लेख गरेका छन् ।
मेयर साम्पाङले बजेट माग्दै पटक-पटक मन्त्रालय धाउनु परेको क्षणसमेत मन्त्री यादवलाई स्मरण गराएका छन् ।
टिप्पणीहरू