पालिका अध्यक्षका कारण पूर्ववडाध्यक्ष ‘घर न घाट’ को अवस्थामा
मीटरब्याजमा आफ्नै पार्टीका नेताहरुको संलग्नता देखिएपछि नेपाली काँग्रेसको जिल्ला समिति, मोरङले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सरुवा गर्न चलखेल शुरु गरेको छ । कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको मीटरब्याजमा संलग्नता रहेको खुलेपछि काँग्रेस अनुसन्धान रोक्नका लागि सिडियोको सरुवा गराउन सक्रिय भएको हो ।
अरुको नाम सार्वजनिक हुने डरले काँग्रेसका उपाध्यक्ष भक्तिमाथ माझीसहितका नेताहरुले अनुसन्धान हुनबाट रोक्न खोजेको स्रोत बताउँछ । स्रोतका अनुसार पीडितको उजुरीलाई बेवास्ता गर्न काँग्रेसी नेताहरुले सिडियो यादवलाई दबाब दिएका थिए । तर, उनले नमानेका हुन् ।
बैठक बोलाएर उनले अनुसन्धान अगाडि बढाएपछि नेताहरु आक्रोशित बनेका छन् । उनको सरुवाका लागि पार्टी सभापति शेरबहादुर देउवापत्नी तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई समेत फोन गरिएको स्रोतको दावी छ ।
‘सिडियो यादवलाई सरुवा गराउन नेताहरुले सभापति देउवापत्नीलाई समेत फोन गरेका छन्’,स्रोतले भन्यो । वडा नम्बर ३ का काँग्रेसबाटै दुई पटक वडाध्यक्षमा निर्वाचित जदुलाल कामत र वडा नम्बर २ की स्थानीय ५५ वर्षीया रामवती राजवंशीले प्रशासनमा उजुरी दिएका थिए । उजुरीपछि पूर्वडिआईजीसमेत रहेका उपाध्यक्ष माझीले धम्की दिएको आरोप छ ।
गत असार १ गते काँग्रेस नेता तथा पूर्वप्रदेश सांसद सूर्यराज राईले कामतलाई जोगाउन भन्दै सिडिओलाई लक्षित गरेर स्ट्याट्स लेखेका थिए । अदालतमा विचाराधीन मुद्दामा प्रशासनले छलफल अगाडि बढाएको भन्दै उनले आपत्ति जनाएका छन् । पाँच लाख रुपैयाँ ऋण लिनका लागि रामवतीले २०७१ सालमा आफ्नो आठ कठ्ठा जमिन धितो राखेकी थिइन् । ऋण तिर्न नसकेपछि कामतले सो जग्गा आफ्नो नाममा पास गराए । तर, भुक्तानी गर्न तयार हुँदा पनि उनले जग्गा फिर्ता गरेका छैनन् ।
त्यसविरुद्ध रामवतीका छोराले अदालतमा मुद्दा दायर गरेका छन् । सोही मुद्दालाई आधार बनाएर काँग्रेसी नेताहरुले सिडियो यादवलाई चेतावनी दिँदै आएका छन् । यता, रामवती भने सुकुम्बासी बनेकी छिन् । २०७४ सालमा वडाध्यक्ष जदुलालले ६८ लाखमा जग्गा किनेका थिए । २० लाख रुपैयाँ ऋण लिएर खरिद गरिएको जग्गा उनले श्रीमती रुणादेवीको नाममा नामसारी गरे । उनले कामतलाई ३५ लाख बुझाएपनि थप २३ लाख माग्दै आएका छन् । जसका कारण उनी पनि ‘घर न घाट’ को अवस्थामा पुगेका छन् ।
टिप्पणीहरू