घरभित्रका सर्प समात्ने नगर प्रहरीको पदोन्नति
गर्मी लागेसँगै तराईमा सर्पको आतंक बढेको छ । जमिन तातेपछि सर्पहरु दुलोबाट बाहिर निस्किन थालेका छन् । कतिपय अवस्थामा सर्प घरभित्रै पस्ने गरेको छ ।
मोरङको विराटनगर महानगरपालिकाका एक नगर प्रहरीलाई यतिखेर सर्प समातेर त्यसको व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पाँच वर्षदेखि निःशुल्क त्यस्तो कार्य गर्दै आएका नगर प्रहरी शम्भु घिमिरे महानगरभित्र निकै चर्चित छन् ।
उनले बेडरुमदेखि किचेन र बगैंचामा पसेको सर्प समातेर सुरक्षित स्थानमा व्यवस्थापन गर्दै आएका छन् । उनको काम देखेर महानगरले नगर प्रहरी हवल्दारबाट सोझै असईमा बढुवा गरेको छ । घरघरमा पुगेर सर्पलाई जिउँदै समातेर समाजलाई गुन लगाएको भन्दै महानगरले गत असार १० गतेको बजेट अधिवेशनबाट उनको पदोन्नति निर्णय गरेको हो ।
त्यसैगरी उनलाई ‘वर्षको सर्वोत्कृष्ट कर्मचारी’ घोषित गरिएको छ । नेपाली सेनाबाट अवकाशपछि २०७६ सालदेखि नगर प्रहरीमा कार्यरत उनले चार सयभन्दा बढी विषालु सर्प समातिसकेका छन् । रातदिन नभनी स्थानीयको घरघरमा पुगेर सर्पको उद्धार गरेर उनले सकुशल जंगलमा छोडिदिन्छन् ।
गत महिना नोबेल मेडिकल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको घरमा परैबाट विष फाल्ने स्टेफिङ कोब्रा पसेको थियो । उनले त्यसको पनि उद्धार गरेका हुन् । विराटनगरमा सपरिवार बस्दै आएका शम्भुले विश्वकै अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
एक तह बढुवा भएपछि फुरुङ्ग भएका उनी भन्छन्, ‘परिश्रमको फल मिठो हुन्छ भन्ने सुनेको थिएँ । त्यो कुरा अहिले प्रमाणित भयो । जस्तोसुकै कठिन अवस्था भएपनि चौबिसै घण्टा आफ्नो जिम्मेवारी वहन गर्न तयार रहने छु ।’
टिप्पणीहरू