एमाले विद्यार्थी संगठनमा ७ मतको खेल

एमाले विद्यार्थी संगठनमा ७ मतको खेल

एमाले विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन जेठ ३० गते राति सम्पन्न भएर डा. सुजन कडरियाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कमिटी तथा ४ आयोगका पदाधिकारी र ५२ सदस्यसहित २०३ जनाको कमिटी निर्वाचित भएको छ । 

अध्यक्ष डाक्टर, उपाध्यक्ष इञ्जिनियर र खेलाडी, महासचिव जनस्वास्थ्यकर्मी, सचिव, वकिल र इञ्जिनियर । ३ डाक्टर र १३ इञ्जिनियरले १ डाक्टर र १८ इञ्जिनियरसहित पराजित भएका छन् । कमिटीको पहिलो बैठक पार्टी मुख्यालय च्यासलमा बसेर सचिवहरूको कार्यविभाजनसमेत गरिएको छ । आर्थिकमा आकाश घर्ती मगर, संगठनमा गोपाल नेपाल, प्रचारमा समिम बाबु खान, विदेशमा रचना सापकोटाले जिम्मेवारी पाएका छन्। 

उद्घाटन सत्रमा पार्टीका नेता, संगठनका पूर्वअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, विभिन्न जनवर्गीय संगठनका नेता, अन्य विद्यार्थी संगठनका नेतालाई अतिथि बनाइएको थियो । पाहुनालाई मञ्चमा बोलाउँदा समान्य ताली त स्वाभाविकै हो । उद्घोषकले पूर्वअध्यक्ष ऐन महरलाई स्टेजमा बोलाउँदा भने मज्जाले हुटिङ भयो । एमालेका एक नेता भन्दै थिए ‘ऐनजी, पार्टीको नेता भइसक्नुभयो अझै पनि १ हुल केटा लिएर हिँड्न छोड्नुभएको रहेनछ ।’ तर आरसी लामिछानेको हकमा भने फरक भयो । उनको नाम लिनासाथ हलभरि परर ताली बज्यो ।

गत महाधिवेशनमा पनि प्रज्ञा हल कमलादीमा पार्टी नेताको भाषणसमेत छाया पर्ने गरी बोलेका थिए । त्यही अधिवेशनमा सारा नेताले चर्को घेराबन्दी गरेर उनलाई हराएका थिए । पछिल्लो समय हरेक कार्यक्रममा उनको खोजी हुन थालेको थियो । मीठो भाषण गर्ने, जतिबेला पनि कार्यकर्तासँग रहने त्यस्ता नेता अखिलमा नहुँदा उनको ब्यापक खोजी हुने गरेको छ । 

कुन नेताको साथ कसलाई ?

एमालेका अधिकांश नेता सरकारी लाइन भन्दै सुजनको पक्षमा लागेका थिए । सिंगो अध्यक्ष मण्डल एकातिर हुँदासमेत प्रकाश पौडेलले ७ मतले हार्नु चानचुने कुरा होइन । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको मान्छे भनेर चिनिएका प्रकाशलाई न मन्त्रीले सघाए न त उनी निकटले । ‘पिएस कमरेडले युवासंघको पोखरा महाधिवेशनमा सुमन पुरीलाई सहयोग गरेनन्, क्षितिजलाई सघाए, अहिले मौन बसे । प्रकाश जनजाति भएको भए सहयोग गर्थे । उनीनिकट एक नेता कीर्तिपुरमा यसो भन्दै थिए । विद्रोही छवि बनाएका युवा संघका पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य रमेश पौडेल मज्जाले लागेपछि केही नेताले प्रकाशलाई सघाएका थिए ।

एमाले पार्टी अध्यक्ष, महासचिव, उपमहासचिव, बन्द सत्रको हाइकमाण्ड सुजनको पक्षमा थियो । सचिव पद्मा अर्याल, कोशीका विनोद ढकाल, शैलेश लामा, भोजपुरका अध्यक्ष मकर खड्का, इलामका सचिव रवीन्द्र सुवेदी, कर्णालीका यमलाल कँडेल, सुपका कर्ण थापा, पद्मा गिरी, राजेश राई, रमेश भट्टराई, मोती बिक, लोकेश निरौला, तपेन्द्र शाही, विद्यार्थी विशेषका सुदर्शन शिवाकोटी र पार्टीमा १० बुँदे भनेर चिनिएकाहरू प्रकाशको पक्षमा थिए । लाग्नेहरू पनि खुल्न सकेका थिएनन् । एक पूर्वनेता भन्दै थिए, ‘कि गुटबन्दी गर्दै नगर्नु, गरेपछि किन डराउनु, जे गर्नु छ रमेश पौडेलजस्तै गरी छाती फुलाएर गर्नु नि !’

आयोजक टिमका गोविन्द गिरी, नारायण घर्ती, दीपेश प्रसाईं मात्र प्रकाशको पक्षमा लागेका थिए । पानी बाराबारको अवस्थाका सञ्जीव धितालले समेत पार्टीको आधिकारिक भन्दै सुजनसँगको फोटो पोस्ट गर्न भ्याएका थिए । ३० गते बिहान ९ः३० बजेदेखि निर्वाचन शुरु भयो । त्यही बेला प्रमका सल्लाहकार तथा उपमहासचिव विष्णु रिमालले फेसबुकमार्फत कोही पनि आधिकारिक उम्मेदवार होइन भनेपछि प्रकाशलाई केही फाइदा भएको थियो । जेठ २७ गते (मंगलबार) बन्दसत्र हलमा हाइकमाण्ड प्रमुख भानुभक्त ढकालले सर्वसम्मत गरौं भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्तुत गर्दा निर्वाचनको पक्षमा नाराबाजी भएको थियो । 

सरकारी टोली दुईतिर 

सरकारी टोलीले अध्यक्षमा सुजन कडरिया, महासचिवमा दीपक धामी र उपाध्यक्षमा अञ्जना शिवाकोटीको लिस्ट सार्वजनिक गर्दा नरेश रोकायाको टिमले विकास श्रेष्ठलाई बोकेको थियो भने गोविन्द गिरी र नारायण घर्तीको टिमले राजकुमार ढकालका निम्ति चिट बाँडेको थियो । 

माधव ढुंगेलको कमब्याक, समिक शून्य 

पूर्वअध्यक्ष माधव ढुंगेल यो महाधिवेशनमा सर्वाधिक सफल भए । उनले नै भनेका मान्छेलाई जिताएसमेत । विपक्षमा रहेका समिक बडाल र भानुभक्त ढकाललाई पक्षमा ल्याउन सफल भए । ढुंगेल बन्दसत्रको दोस्रो दिनदेखि प्रसन्न मुद्रामा प्रकट भएका थिए । कसैलाई थाहा नदिई बालुवाटार पुगेर उनले केपी ओलीलाई मनाएका थिए । उनले समिक बडाल र नरेश रोकायालाई बेग्लाबेग्लै र सामूहिक रूपमा राखेर सुजनको नाम फाइनल गरेका हुन् । नत्र दीपक धामी नै अगाडि थिए। 

महासचिवको निर्देशन अलपत्र 

‘अबको अध्यक्ष दीपक धामी हुन्, आ–आफ्नो संयन्त्र परिचालन गर्नुस् । भेटघाट तीव्र पार्नुस् प्रतिनिधि ल्याउँदा नै ध्यान दिनुस् । जेठ दोश्रो सातातिर महासचिव शंकर पोखरेलले निकटलाई यस्तो निर्देशन दिएका थिए । त्यहीअनुरूप रमेश भट्टराई, सुदर्शन शिवाकोटी, नरेन्द्र न्यौपाने र किरण देउजाहरू परिचालन भए । रमेश, सुदर्शन, नरेन्द्र भेटघाटमा ब्यस्त हुन थाले भने किरण मिडियामा हाहु गर्नतिर खटाइए । 

पोखरेलले उद्घाटनको दिन कीर्तिपुर जानुअघि, आफ्नै च्याम्बरमा केन्द्रीय सदस्य तथा युवा विद्यार्थी इञ्चार्ज रमेश पौडेल, अखिल उपाध्यक्ष गोविन्द गिरी, युवा विद्यार्थी विशेषका अध्यक्ष सुदर्शन शिवाकोटी आदिलाई जहाँ लाग्नुभएको छ, त्यहीँ लाग्नुस्, पार्टीको आधिकारिक त्यही नै हुन्छ भनेर निर्देशनसमेत दिएका थिए । ‘महासचिवले नै भनेपछि होला त नि भनेर लागियो तर अरुले भित्रभित्रै खेलेर चिज फरक पारेछन्,’ एक नेताले भने । 

उता अदालतमा मुद्दा, यता उपमहासचिव

कमल जोशीले गत माघमा काठमाडौँको ठमेलमा राति ड्युटीरत पुलिसलाई कुटेर केही दिन हिरासतमा बिताएका थिए । जिल्ला अदालतले धरौटीमा छाडेका कमल उपमहासचिव पदमा अत्यधिक मत (८१६) ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वीले ४७४ मात्र मत ल्याएकी थिइन् । उनलाई उपमहासचिव बनाउन, आकाश घर्तीलाई सचिवमा झारिएको थियो । कमललाई जिताउन ऐन महर पूरै खटिएका थिए ।

स्पष्टीकरण सोधिएका ३ जना विजयी 

समिक बडालले समानान्तर कमिटीलाई बधाई दिएको र फेसबुकमा जे पायो त्यही लेखेको भन्दै अञ्जना शिवाकोटी, कमल जोशी र आकाश घर्ती लगायतलाई स्पष्टिकरण सोधेका थिए । तर यो महाधिवेशनबाट उपाध्यक्षमा अञ्जना शिवाकोटी (७७५), उपमहासचिव कमल जोशी (८१६) र सचिवमा आकाश घर्ती (३६०) ले सर्वाधिक मत ल्याएका छन् । 
 
 

टिप्पणीहरू