काण्डै काण्डको क्रमशः कमाल
शक्तिकेन्द्र मिलाएर उत्तरी छिमेकी नाकातिर पुग्ने र भ्रष्टाचारदेखि यौनकाण्डको आरोप लागेर काठमाडौं तानिने सिलसिलाले निरन्तरता पाइरहेको छ ।
चीनसँग सीमा जोडिएको रसुवा जिल्ला, हाइड्रो हबका रुपमा समेत परिचित छ । जसरी एक जना अधिकृत तहको कर्मचारीले एक पटक त्रिवि अध्यागमनमा पुग्दा एक करोडमाथि आर्जन गर्दछन्, उसैगरी रसुवा पुगेका कर्मचारीले सोही हाराहारीमा कमाउने हुँदा दुर्गम भएर पनि त्यो ठाउँ कर्मचारीको रोजाइमा पर्ने गर्छ । यसका बाबजुद शक्तिकेन्द्रसम्मै पहुँच मिलाएर त्यहाँ पुगेका उपसचिव, शाखा अधिकृतदेखि तल्ला तहका कर्मचारीहरू भ्रष्टाचारदेखि यौन दुव्यर्वहारसम्मको मुद्दा खेप्दैछन् ।
हालै मात्र रसुवा जिल्ला अदालतका न्यायाधीश र सरकारी वकिल मुद्दा खेपिरहेकी एक महिलालाई रात बिताउन प्रस्ताव गरेको उजुरीका कारण काठमाडौं तानिएका छन् । न्यायाधीश भुवनसिंह थापालाई न्यायपरिषद्मा तानिएर अनुसन्धान भइरहेको छ भने सरकारी वकिल विमल थापालाई पनि फिर्ता बोलाइएको छ । बहुविवाहको कसुरमा मुद्दा खेपिरहेकी एक महिला, जसको श्रीमान् कारागारमा छन्, सरकारी वकिलले रात बिताउन प्रस्ताव गरेको उजुरी परेका कारण उनीहरू काठमाडौं तानिएका हुन् ।
उसो त केही महिनाअगाडि एमालेनिकट कर्मचारीले समेत सेवाग्राहीसँग ९५ हजार घुस लिएको प्रकरणमा तानिएका थिए तर न्यायालयदेखि नियामक निकायलाई प्रभावमा पार्न सक्ने खुवी भएका उनी अहिले अर्थमन्त्रीको भ्यानलबाट राष्ट्रपति चुरे कार्यालयमा पुगेका छन् । ती उपसचिव हुन्, अणनाथ बराल । उनी यसअघि लाङटाङ राष्ट्रिय निकुञ्जमा हुँदा भ्रष्टाचार मुद्दामा, चितवन राष्ट्रिय निकुञ्जमा हुँदा खाग तस्करीमा र कोशी टप्पु वन्यजन्तु आरक्षमा रहँदा स्थानीयबाट लखेटिनेमा पर्छन् । निकुञ्ज क्षेत्रभित्रै पर्ने त्रिशूली थ्री बी जलविद्युत परियोजनासँग कानुनअनुसार जरिवाना र बिगो गरी ४७ लाख उठाउनुपर्नेमा जम्मा २० लाखमात्र लिएर उन्मुक्ति दिएको विषयमा समेत उजुरी पुगेको छ । खाग तस्करीमा जोडिएर कारवाही खेपेका, ग्रेड रोक्कादेखि निलम्बनमा समेत परेका बराललाई तीन दिनमै सर्वाेच्च अदालतले क्लिन चिट दिएको समेत भेटिन्छ ।
उसो त यसअघि रसुवाबाटै प्रमुख भन्सार अधिकृत भ्रष्टाचारको आरोपमा काठमाडौं तानिएका थिए । दीर्घराज मैनालीका खास मानिने रामप्रसाद रेग्मी रसुवामा हुँदा एउटा सामान ल्याए पनि अर्कै सामान घोषणा गरिएको प्रकरणमा अर्थमा तानिएका थिए । अहिले भन्सारमै घुमिरहेका छन् । उनी पछि रसुवा पुगेका (राप्रपा) रामप्रसाद पाठक पनि उस्तै लफडामा मुछिए । पाठक अहिले वीरगञ्ज भन्सार प्रमुख रेग्मी रसुवा, मेचीनगर हुँदै भैरहवा भन्सारको प्रमुख छन् । यस्तै रसुवाको प्रहरी प्रमुख रहँदा जुवाडेहरूसँग मिलेमतो गरेको आरोप लागेका डिएसपी केशव भट्टराईलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा प्रमुखको रुपमा काजमा खटाइएको छ ।
टिप्पणीहरू