भिजिट भिसा छानबिन समितिलाई नौ बुँदे कार्यादेश
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न गठित छानविन समितिले नौ बुँदे कार्यादेश पाएको छ ।
गृहमन्त्री रमेश लेखकले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सात सदस्यीय समितिलाई राय तथा सुझावसहित प्रतिवेदन तयार पार्न कार्यादेश दिएको जानकारी दिए । समितिले भिजिट भिसा प्रकरणमा छानविन गरेर नीतिगत, कानुनी एंव संरचनागत सुधारका लागि दीर्घकालीन कार्ययोजनासहितको प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने छ ।
बैरागी नेतृत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन मन्त्रालयका सहसचिव अरुणा जोशी, पर्यटन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्यसचिव रहेको उक्त समितिले अब भिजिट भिसा प्रकरणमा छानविन गरेर नीतिगत कानुनी एंव संरचनागत सुधारको लागि दीर्घकालीन कार्ययोजनासहितको प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउनेछ ।
यस्तो छ नौ बुँदे कार्यादेशः
- अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्ने ।
- अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रने यात्रुलाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि मापदण्ड लगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सो को मस्यौदासहितको सुझाव पेस गर्ने ।
- अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने ।
- अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावत समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरूबिचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्थाबारेमा सुझाव पेस गर्ने ।
- अध्यागमन व्यवस्थापन र नागरिकको यात्रा सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यास गरी नेपालको परिवेश अनुकूल कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने ।
- भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरू समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथाम गरी अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने ।
- अध्यागमन प्रणालीलाई प्रविधिमैत्री,सरल, सहज, छिटोछरितो बनाइ सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने ।
- विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने ।
- अध्यागमन आवतजावतको अभिलेख सुरक्षित र चुस्त दुरुस्त राख्न अपनाउनुपर्ने उपायहरूका बारेमा सुझाव दिने ।
टिप्पणीहरू