रास्वपा र राप्रपालाई छानविन समिति अमान्य

रास्वपा र राप्रपालाई छानविन समिति अमान्य

भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सरकारले बनाएको छानविन समितिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ ।

सरकारले आफ्नो गोजीका मान्छेलाई राखेर छानविन समिति बनाएको भन्दै रास्वपाले विरोध गरेको हो ।

आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानविन समिति बनाएको जानकारी गराएका थिए । तर, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले उक्त समिति स्वीकार्य नहुने बताए ।

‘हामीलाई यस्तै हुन्छ भन्ने थाहा पाएर सहमति नगरेका हौँ, आफ्नो गोजीका मान्छेलाई राखेर बनाएको समितिले निष्पक्ष छानविन गर्ला भनेर नसोचे पनि हुन्छ’, उनले भने, ‘उहाँ त तीर्थराज भट्टराईसँग अर्किड कोलोनीमा मर्निङ वाक गर्ने साथी हो नि, हामीले कि संसदीय छानविन समिति, कि कुनै पूर्व प्रधानन्यायाधीको संयोजकत्वमा समिति खोजेका हौ, अहिलेको समितिलाई मञ्जुर छैन ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारले बनाएको छानविन समितिको विरोध गरेको छ । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्व मुख्यसचिव नेतृत्वको समितिले बहालवाल मन्त्रीमाथि छानविन गर्छ भनेर पत्याउनु मुर्खता हुने टिप्पणी गरे । 

आफूहरुले भने बमोजिमको छानविन समिति नबन्दासम्म सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपाको निर्णय छ ।

टिप्पणीहरू