लुम्बिनी प्रदेश सांसद रायमाझी प्रहरीको खोजीमा

लुम्बिनी प्रदेश सांसद रायमाझी प्रहरीको खोजीमा

लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सिके राउतको जनमत पार्टीबाट समानुपातिक सांसद रहेकी उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा रायमाझीमाथि कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा पुर्जी जारी भएको हो ।

बर्दियाको गुलेरिया नगरपालिका–५, घर भएकी रायमाझीलाई पक्राउ गरी पठाइदिन पर्सा प्रहरीले असार ३ गते जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्र पठाएको देखिन्छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक (इन्स्पेक्टर) शैलेन्द्रकुमार खड्काद्धारा लेखिएको पत्रमा भनिएको छ, ‘पर्सा जिल्ला अदालत वीरगञ्जबाट मिति ०८२–०२–१६ गतेको पत्रद्धारा अनुमति प्रदान भई आएको हुँदा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ५, मा बस्ने निर्मल रायमाझीको श्रीमती वर्ष ४५ की सुमन शर्मा रायमाझीर्ला निजको घर ठेगानामा गई खोजतलास तथा पक्राउ गरी निजको घरसमेतमा कानूनबमोजिम खानतलासी तथा बरामखी मुचुल्का गरी यस कार्यालयमा दाखिला गरिदिनुहुन अनुरोध गरिएको छ ।’ 

यद्यपि, हालसम्म उक्त पत्र आइनपुगेको बर्दिया प्रहरी प्रवक्ता नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर डमरपाल बताउँछन् । उनले भने, ‘हाम्रो इमेलमा अहिलेसम्म त्यस्तो कुनै पत्र आएको छैन ।’ 

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले भने अनुसन्धानको विषय रहेकाले अहिले केही पनि बोल्न नमिल्ने बताए । रायमाझीले चौहानसँग लाखौं रकम सापटी लगेर लामो समयसम्म नतिरेको र पछि चेक दिएर बाउन्स भएको बताइएको छ ।

उता, प्रहरीले मधेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराजको समेत खोजी गरिरहेको छ । एक युवतीलाई जर्बजस्ती करणी गरेको आरोप लागेपछि उनी झण्डै चार महिनादेखि फरार भएका हुन् । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिए पनि उनी पक्राउ परेका छैनन् । 

टिप्पणीहरू