स्वास्थ्य सेवा व्यवस्थापक संघ जुलुससहित सडकमा

स्वास्थ्य सेवा व्यवस्थापक संघ जुलुससहित सडकमा

स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले आज र्यालीसहित माइतीघर मण्डलामा कोणसभा गरेको हो । 

त्यसअघि बिहान बिजुलीबजार पुल नजिक मायालु दोहोरी घरअगाडि सडकबाट र्याली निकालिएको थियो । नेपाल स्वास्थ सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्रराज भुषालले नेतृत्व गरेको र्यालीमा छम बहादुर अधिकारी, होमप्रसाद अधिकारी, धिरज मैनाली, प्रकृति आचार्यलगायत करिब एक सयजति सहभागी थिए । 

बिजुली बजारबाट नाराबाजीसहित निस्किएको जुलुस माइतीघर मण्डला पुगेर कोणसभामा परिणत भएको हो । त्यसक्रममा प्रदर्शनकारीले 'ओ.एन.एम. सर्भेमा स्वास्थ्य सेवा व्यवस्थापनको दरबन्दी सिर्जना गर', 'करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतलाई स्थायी पद कायम गर', 'अस्पताल प्रशासकका लागि उपयुक्त जनशक्ति स्वास्थ्य सेवा व्यवस्थापक  हुन्', 'स्वास्थ्य सेवा व्यवस्थापनको आवद्धता, अस्पतालको सेवामा चुस्तता' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतलाई स्थायी पद कायम गर्नुपर्नेमा उनीहरुले विशेष जोड दिएका छन् । स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी सुनिश्चित नभएसम्म आन्दोलनबाट पछि नहट्ने संघको चेतावनी छ ।

संघको तर्फबाट आजै स्वास्थ सचिवलाई ज्ञापन पत्रसमेत बुझाइएको बताइएको छ ।

टिप्पणीहरू