बाढी पहिरोबारे जानकारी दिन ठाउँ-ठाउँमा सहायता कक्ष
काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने लामा तथा मध्यम दूरीका सवारी साधनलाई बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी दिन एक दर्जन स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको हो । नयाँ बसपार्क, कलंकी, नागढुंगा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगामा कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षबाट मनसुनजन्य प्राकृतिक प्रकोपका साथै सडकको अवस्था तथा सवारी चालक, परिचालक र यात्रुले अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बताए ।
उनले भने,‘बाढी पहिरोका कारण सडक अवरुद्ध भई अप्रिय घटना घट्नुका साथै जनधनको क्षतिसमेत हुनसक्छ । प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणको लागि नागरिक सहायता कक्षको स्थापना गरिएको हो । कक्षमा कार्यरत ट्राफिक प्रहरीबाट सवारी चालक तथा यात्रुहरुले सडकको अवस्थाबारे जानकारी लिई पहिल्यै सुरक्षा अपनाउन सक्नुहुन्छ ।’
टिप्पणीहरू