रुपन्देहीमा २ अर्बको फ्रेन्च फ्राई उद्योग, काठमाडौँमा उत्पादन सार्वजनिक

रुपन्देहीमा २ अर्बको फ्रेन्च फ्राई उद्योग, काठमाडौँमा उत्पादन सार्वजनिक

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग सञ्चालनमा आएको छ ।

गुल्मीको मदाने गाउँपालिका-६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले शुद्धोधन गाउँपालिकामा फस्र्ट च्वाईस फुड नामक सो उद्योग खोलेका हुन् ।

काठमाडौंमा एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सो कम्पनीको उत्पादन सार्वजनिक गरिएको छ । किसानलाई आत्मनिर्भर बनाउने र आयात घटाउने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । 

अहिले वर्षको २ हजार टन उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै लैजाने लक्ष्य रहेको उनले सुनाए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले जनाए । 

उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको बताउँदै पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले रोजगारी पाइरहेको खुलाए । अमेरिका, दुबई, साउदी अरबलगायत तेस्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गर्ने तयारीमा रहेको पनि त्यसक्रममा जानकारी गराइयो ।

यसले नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउनुका साथै कृषिको व्यवसायिकरणमा टेवा पुग्ने व्यवसायी पौडेलको विश्वास छ ।  उद्योगका अहिले काठमाडौं, धरान, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर तथा देशभर ४ सय वटा रेष्टुरेष्ट संचालित छन् । 

उत्पादन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले निष्ठा र मेहनतका साथ काम गरे जो कोहीले पनि चमत्कार गर्नसक्ने बताए । विदेशबाट खालि हात स्वदेश फर्किएका कृष्ण पौडेल यसको जीवन्त उदाहरण भएको उनको भनाइ छ । आलुको आयात प्रतिस्थापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने प्रष्ट्याए ।
 

टिप्पणीहरू