पत्रकारिता गर्दा साइबर क्राइम लागेर जेल जानुपर्ने ?
सूचना प्रविधिको विकासले पत्रकारितामा अवसरसँगै चुनौतीको चाङ लागेको छ ।
‘पत्रकारिता कर्म गर्दा साइबर क्राइम लागेर जेल जानुपर्ने ?’ छापा माध्यमबाट पत्रकारिता गर्दै आएर अहिले अनलाइनमा कार्यरत चितवनका पुराना पत्रकार सूर्यप्रकाश कंडेलले भने, ‘काम गर्दा कहिलेकाहीँ गल्ती कमजोरी हुन सक्छ । प्रेस काउन्सिललाई पो पत्रकारिताको मर्म थाहा छ । म जेल गएँ भने मेरो परिवार भोकै हुन्छ ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा अस्ति चितवनमा पत्रकारहरुसँग अनलाइन मिडिया, युट्युव तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालहरु सम्बन्धमा अभिमुखीकरण तथा छलफल कार्यक्रम आयोजना भएको थियो । नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्षसमेत रहेका पत्रकार कृष्ण आचार्यले पनि भने, ‘न्युज लेख्न डराउनुपर्ने अवस्था छ ।’
पछिल्लो समय पत्रकारिताको विश्वसनीयता र मर्यादा पनि घट्दै गएको पत्रकारहरु बताउँछन् । भन्छन्, ‘अनलाइन, युट्युब लगायत सोसल मिडियामा कसरी भ्युज बढी आउँछ भन्ने छ, समाजलाई कस्तो असर पर्छ भन्ने नै भएन ।’ चितवन पोष्टका सञ्चालक गोविन्द अर्यालले भने, ‘१० वर्षअघि हाम्रो स्तर के थियो ? स्कूप मार्ने होडबाजीले खोज पत्रकारिता ओझेलमा परेको हो कि !’
नेपाल टेलिभिजन हुँदै बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार ईश्वर जोशीले भने, ‘पहिले पहिले मन्त्रीहरु पनि हामीलाई कुरेर बस्नुहुन्थ्यो, फलानो पत्रकार आइपुग्नु भा'छैन भनेर । अब अहिले यो कार्यक्रम हुँदै गर्दा कति साथीहरुले समाचार पठाइसक्नुभएको छ मन्त्रालयले यहाँ कार्यक्रम गरिराछ भनेर ।’
डिजिटल मिडियामा छिटो र होडबाजीको नाममा गलत समाचारहरु पनि सम्प्रेषण भइरहेको पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले बताए । डिजिटल मिडियालाई नियमन गर्ने नाममा सरकारले नियन्त्रण गर्ने कानुन ल्याउन लागेको भन्दै उनले सामाजिक सञ्जाल विधेयक मौजुद अवस्थामा लागु हुन महासंघले नदिने बताए ।
विश्वमा युट्युब र अनलाइनको विकासले ठूलो छलाङ मारिरहेको अवस्थामा नेपालमा पनि हरेक वर्ष प्रयोग बढ्दो छ । शिक्षा र जागरुकताको क्षेत्रमा, अभिव्यक्ति र जानकारीको माध्यमको रुपमा अथाह सम्भावनाको ढोका खोलिरहँदा चुनौतीहरु पनि सिर्जना भएको मन्त्रालयका सूचना अधिकारी रबिन्द्रप्रसाद पौड्यालले बताए ।
‘सामग्रीहरुको गुणस्तर, विश्वसनीयता र नैतिक विषयमा प्रश्न उठ्ने गरेको छ । चुनौतीको विश्लेषण गर्दै समाधानका उपायहरु खोजेर युट्युब र अनलाइनलाई सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा लैजाने लक्ष्य हो’, उनले भने ।
नेपालमा एक करोड ६४ लाख फेसबुक प्रयोगकर्ता र एक करोड ५० लाख युट्युब प्रयोगकर्ता देखिएको प्रेस काउन्सिल नेपालका सदस्य विजयराज अधिकारीले जानकारी गराए । यसरी हरेकले सोसल मिडिया हेर्ने र भ्युज राख्ने गरेको अवस्था छ । अब युटुबलाई पत्रकारितामा राख्दिनँ भनेर सम्भव छैन । पत्रकारिता होइन, जे जे कन्टेन्ट पस्के नि पस्कोस् भनेर बस्न मिल्दैन । सोसल साइट र युट्युबलाई नियन्त्रण गर्नैपर्छ । छाडा छोडेर हुँदैन । नयाँ कानुन निर्माण गर्ने खाँचो छ– उनले भने । युट्युब मूलधारकै मिडियाको रुपमा विकसित भइरहेको उनले बताए ।
‘अहिले त प्रेसमिटका लागि युट्युब र टिकटकलाई पठाइदिनु, अरु बिग मिडिया चाहिँदैन भन्छन्’, पत्रकार सूर्यप्रसाद अधिकारीले भने । पछिल्लो समय युट्युब र अनलाइन मिडियाको विकासले मै हुँ भनौंदा बिग मिडिया हाउसको सेखी झरेको पनि राजु सापकोटाले बताए ।
फेसबुक, युट्युब र अनलाइन जस्ता डिजिटल मिडियाहरुमा सामग्रीहरुको कपी–पेस्ट अचाक्ली भइरहेको पनि पत्रकारहरुको गुनासो छ– ‘फोटो र भिडिओको स्रोतसमेत नखुलाउने ।’ यसमा मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुर भने, ‘कन्टेन्ट भनेको बौद्धिक सम्पत्ति हो । कम्तीमा कुन स्रोतबाट लिइएको हो, त्यो खुलाउनुपर्छ ।’
अब सोसल मिडियाको लागि कन्टेन्ट कस्तो हुनुपर्छ भनेर निर्धारण गर्ने तयारी भइरहेको पनि उनले बताए । भने, ‘डिजिटल मिडियामा देखापरेका सकारात्मक पक्ष र चुनौतीहरुलाई नीतिगत रुपमा कसरी सुधार गर्न सकिन्छ भन्ने हो ।’
विषय गम्भीर छ, यस कार्यक्रमले परिमार्जित र परिस्कृत हुने अवसर प्रदान गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले बताए । ‘सूचना शक्ति हो, अज्ञानताले भन्दा ज्ञानको दुरुपयोगले समाजमा ठूलो असर पार्छ । चुनौतीहरु छन्, सामना गरेर समाधानतर्फ लाग्नुपर्छ’, जिसस प्रमुख नारायणप्रसाद अधिकारीले भने ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले जेठ २२ गते ‘मेरो अनुमति विना फोटो खिच्ने ?’ भन्दै पत्रकारको क्यामेरामा हानेको विषयमा पत्रकारिता क्षेत्रले थापाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भनिरहँदा सर्वाेच्च बारले थापामाथि नै दुव्र्यवहार भएको बताएको । काठमाडौं जिल्ला अदालतले जेठ २७ गते बिजमाण्डु डटकम र नेपाल खबर डटकमलाई धितो बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठबारे लेखेको समाचार हटाउन र थप प्रसारण रोक्न आदेश दिएको । पत्रकार दिलभूषण पाठक विरुद्ध समाचारको विषयमा पक्राउपुर्जी जारी भएको । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिइएको । दियोपोष्टलाई प्रतिबन्ध लगाउन लागिएको । अनलाइन सञ्चार माध्यमसँग सम्बन्धित हालैका यी घटनाक्रमहरुलाई सवालको रुपमा प्रस्तुत गरेर कार्यक्रममा छलफल अगाडि बढाइएको थियो ।
टिप्पणीहरू