यातायातका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर
AI PHOTO
यातायात व्यवस्था कार्यालयका हाकिमविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध आज विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
०५५ साल वैशाखदेखि सेवामा प्रवेश गरेका गौतमले ०७९ चैतसम्म पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, सञ्चय कोष, कृषि, घरभाडा लगायतमार्फत् दुई करोड ८९ लाख आम्दानी गरेकोमा सोही अवधिभित्र पाँच करोड ४० लाखभन्दा बढी खर्च गरेको अख्तियारले जनाएको छ । गौतमले दुई करोड ५१ लाखभन्दा बढी गैरकानुनी ढंगबाट आर्जन गरेको ठहरसहित सोही बराबरको विगो पनि मागदावी गरिएको छ ।
सरकारी कर्मचारीले वार्षिक रुपमा पेश गर्दै आएको सम्पति विवरणमा समेत गौतमले गलत तथ्यांक राखेको अरोप पत्रमा उल्लेख छ । उनले सम्पतिको आधा हिस्सा श्रीमतीको नाममा राखेको पाइएकोले जफत प्रयोजनको लागि सरला नेपाललाई पनि प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
गौतमलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा कैद सजाय माग गरिएको छ ।
टिप्पणीहरू