‘नीलो दोसल्ला’ भिरेर सदनमा रास्वपा सांसद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु घाँटीमा ‘नीलो दोसल्ला’ भिरेर संसद् पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएका उनीहरुले आज विरोधको फरक शैली अपनाएका हुन् ।
प्रतिनिधि सभा बैठक शुरु हुनअघि नीलो दोसल्लासहित संसद् भवनअगाडि खिचेको सामूहिक तस्बिर फेसबुकमा पोस्ट गर्दै पार्टीको कार्यवाहक सभापति डिपी अर्यालले लेखेका छन्, ‘आन्दोलन जारी छ ।’
भिजिट भिसाको आवरणमा मानव तस्करी गरिएको भन्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । यस सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उसको माग छ । मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रुपमा ‘नीलो’ प्रतीकले जनाउने भएकाले नीलो दोसल्ला लगाएर विरोध गरेको रास्वपाले जनाएको छ ।
टिप्पणीहरू