सुन उता वैध, यता अवैध
सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब, ६४ अर्ब, ११ करोडको बजेट प्रस्तुत गरेको छ । संसद बैठकमा विपक्षी दलहरूको अवरोधका कारण यसमाथि छलफल हुन सकेको छैन । सरकार आगामी वर्ष आफूले अनुमान गरेको राजश्व उठ्ने, विदेशी अनुदान र ऋण प्राप्त हुनेमा विश्वस्त छ । तर, मुलुकभित्र अनौपचारिक कारोबारको जगजगी भएकाले अनुमान यथार्थमा परिणत हुने सम्भावना न्यून देखिन्छ ।
नेपालमा अनौपचारिक अर्थतन्त्र र कारोबारले जरो गाडेको प्रमाण मुलुक ‘ग्रे लिष्ट’मा पर्नुअघि अन्तर्राष्ट्रिय दातृ निकाय र एजेन्सीहरूले दिएको चेतावनी, त्यसप्रतिको बेवास्ता र अहिलेको अवस्थाबाटै प्रष्ट हुन्छ । अनौपचारिक कारोबार मूलतः घरजग्गा र सुनमा बढी हुने गरेको छ । त्यसैले नेपालको अनौपचारिक अर्थतन्त्र, हुण्डी कारोबार, सुन आयात र घरजग्गामा लगानी एक–अर्कासँग प्रत्यक्ष जोडिएका छन् ।
हुण्डी कारोबारको रकम र अवैध विप्रेषणको विदेशी मुद्रा सुनमा परिणत भएर अनौपचारिक कारोबारमा मिसिँदा राष्ट्र बैंक र सरकारको कर प्रणाली दुवैलाई कमजोर बनाउने निश्चित छ । विदेशबाट रेमिट्यान्स केही बैंकमार्फत र केही अन्य माध्यमबाट पनि आउने गरेको छ । तर, अफसोर ट्रान्सफरका लागि भने केन्द्रीय बैंकको अनुमति चाहिन्छ । जुन रकम पछि फिर्ता लैजान पाइन्छ ।
मुलुकमा पछिल्लो समय रेमिट्यान्सको रकम बैैंक तथा वित्तीय संस्थामार्फत भित्रिने क्रम बढे पनि हुण्डीबाट समेत त्यत्तिकै आउने गरेको पाइन्छ । विदेश बस्ने नेपालीमध्ये अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, युएईबाट धेरै हुण्डी कारोबार हुने गरेको छ । मध्यपूर्वका अरु देशबाट पनि हुण्डी कारोबार बढ्दै गएको छ ।
सुन बोकेर आउनेहरू किन समातिन्छन् ?
हुन तः सुन आफैँमा अवैध धातु होइन । विश्वमा सबैभन्दा सुरक्षित लगानीको क्षेत्रको रुपमा सुनलाई लिने गरिएको छ । विश्वका धेरैजसो बजारमा अरु सामान किने जस्तै ग्राहकले चाहे जति सुन किन्न सक्छन् । त्यसका लागि आम्दानीको स्रोत पनि खोजिँदैन । नेपालीले प्रायः दुबई, सिंगापुर, हङकङमा खुल्मखुला किन्छन् । जसले पनि सुन किनेरै ल्याउने हो । उता एउटा नेपालीले किनेको सुन बोकेर काठमाडौं आइपुगेपछि लगभग अवैध हुन्छ ।
यता ल्याउँदा त्यस्ताले ठग्न खोजेको भनेको भन्सार रकम हो । यसबाट नेपाललाई दुईथरी घाटा लाग्छ । उतै हुण्डी कारोबारीले रोकेकाले बाहिरबाट आउने डलरमा कमी हुन्छ । त्यसरी जम्मा पारिएको डलरले किनेको सुन भिœयाउन खोज्दा यता भन्सार रकम छली गरिन्छ ।
हुन तः नेपालीहरू धेरै विदेश जानुअघि सुन किन्न डलर यतैबाट बोकेर लगिन्थ्यो । अहिले उताका नेपालीसँग डलर संकलन गरिन्छ । ती नेपालीको नेपालस्थित घरमा रुपैयाँ दिइन्छ । अनि डलरले सुन किनेर ल्याएपछि भन्सार छल्ने कोसिस हुन्छ । सरकारलाई पर्ने मुख्य असर यही हो ।
पहिले विमानस्थलमा विदेश लैजान खोजेको डलर वा विदेशी मुद्रा समातिएको खबर निकै सुनिन्थ्यो । नेपाली बजारबाट अवैध रुपमा डलर किनेर उता लगिन्थ्यो । अहिले उल्टो भएको छ अर्थात् डलर र अन्य विदेशी मुद्रा उतै रोकिन्छ । त्यसरी जम्मा पारिएको रकमबाट सुनसँगै वैध सामान पनि किनेर ल्याउने काममा व्यापारी सक्रिय रहेको बताइन्छ । उनीहरूले बील बिजक कम देखाएर सामान धेरै ल्याउँछन् । त्यसका लागि तिर्नुपर्ने विदेशी मुद्रा उतै मिलाइन्छ । यता बीलमा सामान कम देखाएर विशेषगरी आयात व्यापारमा सक्रिय मारवाडी व्यापारीहरूको धन्दा यसैगरी चलेको हालै सेवा निवृत्त एक जना सचिव बताउँछन् । भन्छन्, ‘धेरै डलर सिष्टमबाट नेपाल नआएको सही हो ।
अष्ट्रेलिया, दक्षिण कोरियाका नेपालीले कमाएको धेरै डलर हङकङ जाने गरेको छ । त्यसपछि सिंगापुर, दुबई र अष्ट्रेलियाबाटै पनि हुण्डी हुने गरेको पाइएको छ ।’
टिप्पणीहरू