गेटको पिल्लरमा स्कुल भ्यान ठोक्किदा बालिकाको मृत्यु
राजधानीमा सञ्चालित एउटा स्कुलको भ्यान पिल्लरमा ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित ईडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डबाट बाहिर निस्किने क्रममा भ्यान गेटको पिल्लरमा ठोक्किदा ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको हो ।
सर्लाही घर भई कुलेश्वर बस्ने उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । त्यसैगरी, सात जना घाइते भएका छन् । आठ वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेको छ । परिसरका अनुसार उनको नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ ।
स्वयम्भु बस्ने नौं वर्षीया नेशिया थापा पनि सोही अस्पतालमा उपचाररत छिन् । उनको टाउकोमा चोट लागेको छ । ११ वर्षीया सिमरन खड्काको दाहिने खुट्टा र दाहिने कान, नौं वर्षीया निकिशा डंगोलको बायाँ खुट्टा, प्रेमिसा घर्तीमगरको मुख र दाहिने खुट्टामा चोटपटक देखिएको छ ।
विद्यालयको प्रधानाध्यापक सुरज पोखरेलको दाहिने घुँडामा चोट लागेको परिसरले जनाएको छ । ४६ वर्षीय उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक हर्कबहादुर कार्की पनि बयोधा अस्पतालमै उपचाररत छन् । उनको नाक र बायाँ आँखामा चोट लागेको छ ।
टिप्पणीहरू