माओवादीले बहुमत पाए गरेर देखाउने बरिष्ठ उपाध्यक्षको दाबी
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउने भए आफ्नो पार्टीलाई एकपटक बहुमतको सरकार बनाउनेगरी समर्थन गर्न आह्वान गर्नुभएको छ ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनताले नै सहयोग गर्नुपर्ने श्रेष्ठको धारणा छ ।
पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहने गरेको बताउँदै उहाँले पार्टी प्रवेशको लहर चलेको दाबी गर्नुभयो । भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन आफ्नो पार्टी नेतृत्वको सरकार ढालिएको जिकिर उहाँले आज पनि दोहोर्याउनुभएको छ ।
‘हामीले जनतालाई अपिल गरेका छौँ की यो देशलाई बनाउने हो भने तपाईंहरुले फेरि नेकपा (माओवादी केन्द्र) लाई एक पटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ’, पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठ भन्नुहुन्छ, ‘यो पार्टीलाई सशक्त बनाउन पनि तपाईंहरुले सहयोग गर्नुपर्छ । र आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्छ । हाम्रो कार्यक्रमहरुमा जनताको सहभागिता राम्रो भएको छ । पार्टी प्रवेशको लहर बढेको छ ।’
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्नेमा उल्टो रोक्ने प्रयत्न भइरहेको भन्दै उहाँले असन्तुष्टिसमेत जनाउनुभएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो पूरा गर्न सबैले दबाब दिनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।
टिप्पणीहरू