कहाँ–कहाँ कुन–कुन कमरेड निष्क्रिय ?

कहाँ–कहाँ कुन–कुन कमरेड निष्क्रिय ?

एमालेका सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओलीका आलोचकहरू प्रायः सबैले पार्टी छोडेर हिँडे । १० भाइ पनि सम्झौता गरी बसे । प्रायः घटनाक्रम हेर्दा ओलीलाई कतैबाट पनि पार्टी सञ्चालनमा समस्या नहुनुपर्ने हो । सबल प्रतिद्वन्द्वी ठानिएका, ह्याकुलाले मिच्न नसक्ने माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरू अलग्गिए । यसका बाबजुद पार्टीभित्रै प्यानल बनाउन नभए पनि फरकमत वा विरोधी खडा गर्न किन कस्सिएका होलान् भनेर जिज्ञाशा राख्न थालिएको छ ।

पार्टीभित्र जनमत कमजोर हुनेले ओलीको नाम लिँदै महासचिव शंकर पोखरेलको सहारा लिने र त्यसैको बलमा रवाफ जमाउन खोज्ने प्रयासस्वरूप यस्तो अवस्था सिर्जना भएको विश्लेषण गरिएको छ । यस्तो चरित्रका नेता तथा कार्यकर्ताले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको जयजयकार गर्दै आएका छन् । एक विश्लेषकका अनुसार जसको ग्राउण्ड छैन, जो कार्यकर्ता माझबाट विस्थापित छन्, तिनैले यस्तो क्रियाकलापलाई निरन्तरता दिएका छन् । अर्कोतर्फ भूगोलमा दुःख गरिरहेका कार्यकर्ताले ७ दिन काठमाडौं बस्दा पनि नेतासँग भेटघाट गर्न पाउँदैनन् । भुइँविहीनले नेतासँग फोटो खिंच्दै जयजयकारसहित फेसबुकमा फोटो पोस्ट्याउँछ, त्यसपछि तलसम्म नेता त यिनकै मात्र रहेछन् भन्ने सन्देश जाने गरेको छ । त्यो देखेर दुःख गर्ने कार्यकर्ता ‘लौ गरी खाओ’ भन्दै निष्क्रिय बस्ने वा पार्टी छोड्ने तहसम्म पुग्ने गरेको र एमालेभित्रै दुःखजिलो गर्ने कार्यकर्ताको मनोदशा बिग्रिएपछि उत्पन्न प्रतिक्रियास्वरूप मोरङ, पर्वत, झापा जिल्ला कमिटी र युवा संघको चुनावमा सोचेअनुरूप सर्वसम्मत नेतृत्व चयन हुन सकेन ।

एमालेका इमान्दार र बेस भएका कार्यकर्तालाई छट्टू कार्यकर्ताले कसरी पछि पार्दैछन् भन्ने उदाहरणका लागि धादिङ ढोलाका सञ्जय दवाडीको एउटा फेसबुक स्टाट्स नै काफी हुनेछ । गाउँघरमा वडा सदस्यको टिकटसमेत नपाउने, पाए पनि जनताले नपत्याउनेले नेतृत्वको चाकडीमा यसरी फुँदा गाँसेका छन् कि पढ्नेहरू लाजले पानी पानी नभई बस्नै सक्दैनन् । दुवाडीले लेखेका छन्, —‘व्यक्ति होइन शंकर एउटा प्रगतिशील विचार हो, अप्ठ्यारो पर्दा भाग्ने कायर होइन, मैदानमा लडिरहने योद्धा हो । पदको बिल्लामात्र भिर्ने होइन, परिणाम निकाल्ने शक्ति हो । पदको घमण्ड होइन भुइँमान्छेहरूको आवाज हो । इतिहासमात्र होइन वर्तमान र भविष्य पनि हो ।’ यो स्टाट्स उनैलाई ट्यागसमेत गरिएको छ । यत्तिका विचारक देखिने दुवाडीलाई गाउँघरमा दुई कौडी जति पनि पत्याउने कोही छैनन् । योभन्दा उदेकलाग्दो त यो स्टाटस एमाले केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इञ्चार्ज खेम लोहनीले सेयर गर्नु हो । 

बेप्रस¨ फेसबुकमार्फत् सेयर गर्नुपर्ने अवस्थाले एमालेभित्र कस्तो खिंचडी पाकिरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । दुवाडीले त मनका कुरा लेखे तर कपाल फुलेका नेताले त्यसैलाई सेयर गर्नुपर्ने कुराले भने एमालेभित्रको अवस्था र गुटबन्दीलाई खुलस्त पारेको देखिन्छ । लोहनीले यस्तो कुरा सेयर गर्नुपर्ने बाध्यता के थियो ? यसले नेताको नजरमा पर्र्न सामाजिक सञ्जालमा प्रशंसाको पुल बाँध्नै पर्ने मनोविज्ञानले काम गरेको देखाउँछ । त्यसो त नेताको नाम लिएर युवा संघको चुनावमा उम्मेदवारी फिर्तासमेत गराइएको घटना खुलेको छ ।

समकक्षीहरूको तुलनामा वैचारिक नेता हुन् शंकर पोखरेल । तर, यस्ता भुइँफुट्टाहरूले उनलाई नेता हुन बाधा पु¥याइरहेको एक शुभचिन्तकको दाबी छ । जसको आधार छैन, उसले स्तुतिगान गाउँछ, जयजयकार गर्छ, नजरमा पर्न खोज्छ । अर्कोतर्फ जो गाउँमै संगठन निर्माण गर्छ, दुःख गर्छ, ऊ नेताको नजिक नै आउन पाउँदैन । मदन भण्डारी जस्तै लोकप्रिय नेता हुने बाटोमा नलागेर दुवाडीजस्तै हुन अघि सर्ने हो भने शंकर पोखरेलको भविष्य पनि राम्रो छैन ।

ओली जति समकालीन राजनीतिमा कद उठेको मान्छे अरु नदेखिए तापनि उनी स्वयं यस्तै मान्छेहरूको चंगुलमा परेका छन् । जसले पटक पटक दर्शनभेट पाउँछ, उनलाई अनेकन कुरा सुनाउँछ, त्यस्तै व्यक्तिबाट अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रभावित हुने गरेको एक मनोविमर्शकर्ताले बताएका छन् । यो खतराको अवस्था हो ।

त्यसो त धादिङ एमालेमा मै हुँ बाठो भन्नेहरूको पहिलो नम्बरमा रमेश आचार्यको नाम आउने गर्दछ । आचार्य पहिला ओलीको पिए भए । पिएबाट आफैं निक्लेका हुन् कि निकालिएका हुन् कसैलाई थाहा छैन । लगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दैलोमा धर्ना कसेर प्रतिनिधिसभामा उम्मेदवारको टिकट लिएर चुनाव लड्न गए । आचार्यको बदलामा नेत्र पौडेलले टिकट पाएका भए संघ र प्रदेश दुवैतर्फको चुनाव एमालेले जित्न सक्थ्यो । यस्तै कारण धादिङमा एमालेका पुराना कार्यकर्ता निराश छन् । जनाधार भएका र गाउँ विकास समिति अध्यक्षसमेत भइसकेका गिरिराज कँडेल र पञ्चायतकालमै महादेवस्थानका जनपक्षीय प्रधानपञ्च रामबहादुर रावलको स्वास्थ्य अवस्था बिग्रे पनि पार्टी पंक्ति र नेताहरू कसैले चासो व्यक्त गरेका छैनन् । त्यसैगरी गजुरीमा दुईचोटि गाविस अध्यक्ष शुक्ल उप्रेती पनि निष्क्रिय छन् ।


 

टिप्पणीहरू