सहकारीमा पो रहेछ अचम्मलाग्दो संसार

सहकारीमा पो रहेछ अचम्मलाग्दो संसार

कर्णाली विकास बैंकका अध्यक्ष तथा पूर्वकार्यकारी निर्देशक राजेन्द्रवीर राय २ अर्ब ५० करोड रुपैयाँँ हिनामिना गरेको आरोपमा लखनउबाट समातेर ल्याइएका छन् । ठगीको जालोमा केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का दाङ र नेपालगञ्जस्थित दुई फिल्ड कार्यालय पनि परेको बताइन्छ । बढी ब्याज पाउने लोभमा यी कार्यालयले सो बैंकलाई करिब ४० करोड लगानी गरेका थिए । 

मंसिरदेखि राष्ट्र बैंकले त्यहाँ रकम नराख्न निर्देशन जारी गर्दै व्यवस्थापन मातहतमा ल्याएकोे थियो । सो बैंकले नेफ्स्कुनका दुवै फिल्ड कार्यालयलाई अरुको तुलनामा एक प्रतिशत बढी ब्याज दिएको थियो । त्यही लोभमा फस्दा पूरै पैसा डुब्ने अवस्था देखा परेको छ । नेफ्स्कुनको नेपालभर ४० वटाजति सेवा केन्द्र रहेका छन् । नेफ्स्कुनमा वार्षिक २६–२७ अर्ब रुपैयाँको कारोबार हुँदै आएको छ, जसमा ५ हजार संस्था सदस्य छन् । 

एउटाले बिराउने, शाखा पिराउने

देशभरका करिब २ सय ५० सहकारी संस्थाको कमजोर व्यवस्थापन, सञ्चालकहरूको फट्याइँका कारण १४ हजार बचत तथा ऋण सहकारी संस्था, ४ हजार ५ सय बहुद्देश्यीय, १३ सय कृषि सहकारी संस्था मारमा परेका छन् । जिबि राईको नेतृत्वमा जोडिएका ९÷१० वटा सहकारी संस्था, भरत महर्जनको सुमेरु, डिबी बमजनको गोरखा ग्रुप, केदारनाथ शर्माले सञ्चालन गरेको शिव शिखरलगायतका सहकारीको बदमासीका कारण अन्य सहकारी बदनाम हुन पुगेको दाबी स्रोतको छ । त्यसो त शिव शिखर र तुलसी बहुद्देश्यीयजस्ता सहकारी संस्थाका एउटै सञ्चालकले बचतकर्ताको १४ अर्ब रुपैयाँसम्म डुबाएको देखिन्छ । भक्तपुरमा संस्था दर्ता गरी देशभर शाखा विस्तार गर्ने अनुमति लिएसँगै सो संस्थाले २२ प्रतिशत ब्याज दिने प्रलोभनमा रकम संकलन गरेको थियो । नियमनकारी निकाय चुप लागेर बसेपछि यस्तो अवस्था सिर्जना हुन पुगेको हो । उनले श्रीमतीका नाममा ५ अर्बसम्म बिनाधितो ऋण लिई भारत र भियतनामसम्म लगानी गरेको देखिन्छ । 

अर्कोतर्फ खेम पाठक नेतृत्वको कृषि सहकारीमा १३ लाख सदस्य छन् यसले एक खर्ब ५ अर्ब बराबरको वार्षिक कारोबार गर्दै आइरहेको छ, जसमा कुनै समस्या छैन । महिलाले मात्रै सञ्चालन गरेका ४ हजार एक सय संस्था छन् । तिनमा पनि खासै समस्या देखिएको छैन । झापास्थित सहारा नेपालको १८ अर्ब रुपैयाँसम्मको कारोवार रहेको छ । त्यहाँ एक लाख ८० हजारभन्दा बढी सदस्य छन् । 

उनले श्रीमतीका नाममा ५ अर्बसम्म बिनाधितो ऋण लिई भारत र भियतनामसम्म लगानी गरेको देखिन्छ । 

केही महिनाअघि मलेसियाको क्वालालम्पुरमा आयोजित साधारण सभामा एसिया प्रशान्त क्षेत्रका २७ वटा संस्था सहभागी थिए । २ फिलिपिन्स, १ इण्डोनेसिया र २४ वटा नेपालबाट ८६ वटा सूचकांकका आधारमा सहकारी संस्थाहरूलाई वर्गीकरण गरिएकोमा नेपालका ८ वटाले सिल्भर र १६ ले ब्रोन्ज ब्रान्डिङको हैसियत प्राप्त गरेका थिए ।

आठ सिल्भर पाउनेमा एक धादिङको मलेखुस्थित जनकल्याण बचत तथा ऋण सहकारी पनि रहेको बताइन्छ । १० हजार सदस्य रहेको जनकल्याणमा एक अर्ब ३० करोडको वासलात देखिन्छ । संस्थामा १८ सय बाल बचतकर्ता छन् । त्यसैगरी झापाको सहारा नेपालमा ५ सयभन्दा बढी कर्मचारी छन् । एक लाख ५० हजार त महिला नै छन् । यो संस्थाले भने सदस्य हितका लागि राम्रोसँग काम गरेकै छ । एनएमसी नेपालको १६ अर्ब रुपैयाँ जति ब्यालेन्स सिट रहेको छ । ११ सय ७७ जना कर्मचारी छन् । यसको आफ्नै दूध उद्योग छ । डिडिसीको भन्दा गुणस्तरीय २० हजार लिटर संकलन, प्रशोधन र वितरण गर्दछ । १६ बिघा जमिनमा एकीकृत कृषि फर्म चलाएको छ । किसानलाई औजार सुलभ र सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । माछापालन, माहुरीपालन, बाख्रापालन, गाईभैंसी पालनका लागि ऋण उपलब्ध गराइन्छ । ३ वटा चिया उद्योग छ । 

ओरियन्टल सहकारीबाट शुरु भएर जिबी राई र रवि लामिछानेको कारण सहकारी पूरै बदनाम हुन पुगेको बताइन्छ । धनगढीस्थित ४० हजार सदस्य रहेको नवजीवन बहुद्देश्यीय सहकारी संस्थामा वार्षिक ६ हजार ५० करोडको कारोबार हुने गरेको छ । यस संस्थाको चुनाव माननीयको भन्दा रोचक हुने गर्दछ । लम्कीको ९० हजार सदस्य रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा करिब ६ अर्बको कारोवार हुने गरेको छ भने गैंडाकोटको विकु सहकारीसँग १० अर्बभन्दा बढीको ब्यालेन्स सिट छ । राम्रा कामको प्रचार कम र बदमास सहकारीको बढी मिडियावाजी भएपछि समस्या परेको सहकारी अभियन्ताहरूको गुनासो छ ।

सहकारीमा पनि घात–अन्तर्घात 

कम मतका बाबजुद केन्द्रीय सहकारीको चुनावमा कांग्रेससमर्थित चन्द्र ढकालले एमाले समर्थित परितोष पौडेललाई हराएका छन् । दोस्रो पटक पनि अध्यक्ष हुन खोजेका पौडेललाई चन्द्र ढकालले पछि पारेका हुन् । पौडेललाई हराउनमा एमालेकै नेता तथा हाल सहकारी काण्डमा जेल परेका केबी उप्रेतीको मुख्य भूमिका रहेको आरोप लाग्ने गर्दछ । उनी पक्षधर ३०० भन्दा बढी एमालेले ढकाललाई मत हालेको बताइन्छ ।

१९ सदस्यीय कार्यसमितिको दुई उपाध्यक्ष, महासचिवसहित १४ सिट एमालेले जिते पनि अध्यक्षचाहिँ कांग्रेसका ढकालले उछिट्याएका थिए । पराजित पौडेल एमाले सहकारी विभागका सदस्य हुन् भने कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले ढकाललाई काखी च्यापेको बताइन्छ ।

ढकाललाई जिताए पनि सहकारी प्रकरणमै उप्रेती पक्राउ परेका छन् । सोह्रखुट्टेस्थित उप्रेती सञ्चालक रहेको जनता बहुद्देश्यीय सहकारी संस्था भने पूरै डुब्न लागेको बताइन्छ । सो सहकारीले जथाभावी ऋण लगानी गरेको र भाका नाघेको ऋणको लिस्ट लामै छ । उप्रेती सहकारी बैंकमा अध्यक्ष र एमडीसमेत भएका थिए ।

टिप्पणीहरू