मिनी संसदमा माननीयहरूको ‘मारामार’
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ । आज बिहान सिंहदरबारमा बसेको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सांसदहरु झगडिएका हुन् ।
शुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणलाई सत्तापक्षले हल्का रुपमा लिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले भने, ‘जनताको हितको कुरा गर्दै गर्दा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता र अध्यागमनको विषय यहाँ आउनुपर्छ ।’
त्यतिकैमा नेपाली कांग्रेसका सांसद राजु थापाले ‘विषयकेन्द्रीत भएर बोल्नुस्’ भन्दै उनलाई रोक्न खोजे । त्यसपछि पराजुलीले समितिका सभापति अब्दुल खानको ध्यानाकर्षण गराउँदै जनसरोकारको विषयमा बोल्न पाउनुपर्ने बताए । तर, सत्ता पक्षका सांसदहरुले एक श्वरमा ‘विषयमा बोल्नुस्, अख्तियारले छानविन गरिरहेको विषय यो समितिमा पर्दैन’ भन्दै रोक्ने प्रयास गरिरहे ।
त्यसपछि आक्रोशित भएका सांसद पराजुलीले चर्को श्वरमा भने, ‘यो विषयलाई जनताले राम्रो हेरिराख्या छन्, हामी सबैको मूल्यांकन गरिरहेका छन् !’ त्यतिकैमा सभापति खानले सांसद पराजुली विषयभन्दा बाहिर गएर बोलेको भन्दै सचेत गराए । त्यसपछि सत्ता पक्षका सांसदहरु सभापति खानको पक्ष लिँदै हो-हल्ला गर्न थाले । सांसद पराजुली भने आफ्नो कुरा राखिरहेका थिए ।
त्यतिकैमा विपक्षी खेमामै रहेको एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ अनायसै टेबल ठोक्दै रास्वपामाथि खनिन थाले । भिजिट भिसा प्रकरणमा आफूहरुले पनि प्रश्न उठिरहेकाले रास्वपामात्र यसको ठेकेदार नभएको उनको भनाइ रह्यो । सांसद पराजुलीतर्फ औँला ठड्याउँदै श्रेष्ठले भने, ‘संसदमा हामीले पनि विरोध गरेका छौ, रास्वपाले मात्रै गरेको हो ? (टेबल ठोक्दै) रास्वपामात्रै लिडर हो ?’
सांसद श्रेष्ठ यत्तिकैमा रोकिएनन् । ‘उहाँको सभापति जेलमा हुनुहुन्छ, हाम्रो अध्यक्ष निलम्बन हुनुहुन्छ, हामीलाई पनि चिन्ता छ नि यार (टेबल ठोक्दै)’, उनले थपे, ‘यहाँ मिडियाको अघि ठेकेदार हुन पाइदैन, हामीले पनि संसदमा बोलेका छौँ ।’
टिप्पणीहरू