तिलाका अध्यक्ष चढ्ने गाडी तोडफोड

जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष मोतीलाल रोकाया चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समूहले ४ नम्बर वडा कार्यालयको परिसरमा पार्क गरिएको गाडी तोडफोड गरेको हो ।
कार्यालयले आयोजना गरेको ‘बालविवाहमुक्त वडा घोषणा कार्यक्रम’ मा सहभागी हुन पुगेका उनको गाडी परिसरभित्र पार्क गरिएको थियो । कार्यक्रम सकाएर फर्किने क्रममा गाडी सिसा फुटाइएको अवस्थामा फेला परेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।
जनआस्थासँग उनले भने,‘हिजो वडामा बालविवाहमुक्त वडा घोषणा कार्यक्रम थियो । अध्यक्षज्यूसहित अन्य जनप्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो । उहाँको गाडी परिसरभित्रै पार्क गरेर कार्यक्रमस्थलतिर गइयो । फर्किएर आउँदा त गाडीको सिसा फुटाइएको पाइयो ।’
सूचना अधिकारी हमालका अनुसार सो गाडी नयाँ हो । गाडी खरिद गरेर गाउँपालिका पुर्याएको भोलिपल्टै त्यस्तो घटना भएको उनी बताउँछन् । भन्छन्,‘त्यो गाडी नयाँ हो । नम्बर प्लेट पनि राखिएको थिएन ।’ गाडी तोडफोड गर्नेलाई जिल्ला प्रहरी कार्यालय, जुम्लाले खोजिरहेको उनले जानकारी दिए ।
टिप्पणीहरू