बालेनको रहरमा सरकारी कोषको साढे २२ लाख स्वाहा
फ्रान्समा आयोजना हुने विश्व प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने हरेक कलाकारको सपना हुन्छ । एक वर्षअघि उक्त रेड कार्पेटमा हिँडेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चर्चा बटुलेका थिए ।
दुई सल्लाहकार (कुमार व्यञ्जनकार र सुनिल लम्साल)लाई लिएर उनी पेरिस पुगेपछि मेयरको सचिवालयले निजी खर्चमै उक्त भ्रमण गरिएको दाबी गर्यो । तर, त्यतिबेला बालेन सरकारी खर्चमै पेरिस पुगेको अहिले आएर खुलेको छ ।
महालेखा परीक्षकको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार मेयर बालेनले फ्रान्स भ्रमणका क्रममा महानगरको २२ लाख ५६ हजार खर्च गरेको पाइएको छ । उक्त रकम उनले तीन फरक–फरक मितिमा भुक्तानी लिएको भनिएको छ ।
२०८१ जेठ १ गते साँझ पेरिस उड्नु अघिल्लो दिन बालेनले एक लाख ४४ हजार सात सय पेश्की (भौचर नं ४२६२) लिएको देखिन्छ । फ्रान्सबाट फर्केपछि असार २ गते ६२ हजार पाँच सय (भौचर नं ५०९१) र १८ गते २० लाख ४९ हजार (भौचर नं ५७२३) भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, मेयर बालेनले गत वर्ष असार ३ गते ब्राजिल भ्रमणमा निस्कनु ठिक एक दिनअघि पनि हवाई भाडावापत् दश लाख २३ हजार अग्रिम भुक्तानी लिएको प्रतिवेदनमा भनिएको छ । भ्रमण भत्ताको नाममा मेयर र उनको सचिवालयले गैरकानुनी ढंगले सरकारी कोष दुरुपयोग गरेको यो प्रकरण अख्तियारमा समेत पुगिसकेको छ ।
यीलगायतका विषयमा बयानको निम्ति अख्तियारले बालेनलाई बोलाएको हो ।
टिप्पणीहरू