स्कूलको पढाइ रोकेर अखिल (क्रान्तिकारी) को तालिम

सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको लामो समय भइसकेको छ । बिना अवरोध विद्यालयमा पठनपाठन गर्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो । विद्यालयभित्र राजनीति गर्न र विद्यार्थीलाई राजनीतिक क्रियाकलापमा प्रयोग गर्न मुलुकको ऐन कानुनले प्रतिबन्ध लगाएको छ । तर,नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले पठनपाठन अवरुद्ध पारेर राजनीतिक कार्यक्रम गरेको पाइएको छ ।
माओवादीको उद्गमस्थल मानिने रोल्पाका विद्यालयमा पढाइ रोकेर संक्रमणकालको झल्को दिनेगरी प्रशिक्षण कार्यक्रम भइरहेको छ । कक्षा समयमा अखिल (क्रान्तिकारी) ले संगठन विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । जसको चर्को आलोचना भइरहेको छ । माडी गाउँपालिका–५, भावाङ, पाछावाङस्थित बागेश्वरी माध्यमिक विद्यालयमा हालै अखिल (क्रान्तिकारी) को समिति गठन गरियो ।
राजनीतिको ‘र’ नबुझेका स–साना विद्यार्थीलाई स्कूलकै पोशाकमा माओवादीको माडी गाउँपालिका अध्यक्ष भरतबहादुर बुढामगर उर्फ कमरेड वसन्त र अखिल (क्रान्तिकारी) रोल्पा जिल्ला अध्यक्ष शनिदेवल बुढामगरले प्रशिक्षण दिएका हुन् । विद्यालयको भित्तामा आफ्नो संगठनको झण्डा टाँसेर प्रशिक्षण दिइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कलिला बालबालिकालाई संगठन विस्तारमा प्रयोग गरेको भन्दै धेरैले अखिल (क्रान्तिकारी) को विरोध गरेका छन् ।
राजनीतिको ‘र’ नबुझेका स–साना विद्यार्थीलाई स्कूलकै पोशाकमा माओवादीको माडी गाउँपालिका अध्यक्ष भरतबहादुर बुढामगर उर्फ कमरेड वसन्त र अखिल (क्रान्तिकारी) रोल्पा जिल्ला अध्यक्ष शनिदेवल बुढामगरले प्रशिक्षण दिएका हुन् ।
अबोध बालबालिकालाई संगठन विस्तारमा प्रयोग गर्नु अखिल (क्रान्तिकारी) को ‘ज्यादती’ भएको एक स्थानीय बताउँछन् । उनले भने,‘जिल्लामा माओवादीको दादागिरी अलि बढी नै छ । उनीहरुलाई जे मनलाग्यो, त्यही गर्छन् । सानो कक्षामा पढ्ने विद्यार्थीलाई आफ्नो संगठनको प्रशिक्षण दिइरहेका छन् । विद्यालय राजनीति सिकाउने ठाउँ हो र ?’
नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को रोल्पा जिल्ला अध्यक्ष अनुपम जिसीले विद्यार्थीको पठनपाठन रोकेर कार्यक्रम गर्नु गलत भएको बताए । त्यस्ता क्रियाकलाप रोक्न विद्यालय सचेत हुनुपर्ने उनको जिकिर छ । नेविसंघले विद्यार्थीको पढाइ प्रभावित हुनेगरी त्यस्ता कार्यक्रम नगर्ने उल्लेख गर्दै उनले जनआस्थासँग भने,‘हामीले क्याम्पसस्तरमा मात्र संगठन विस्तारको कार्यक्रम गर्छौं । माध्यमिक तहका विद्यार्थीलाई राजनीतिक कार्यक्रममा इन्भल्भ गराउँदैनौं । त्यति साना विद्यार्थीले के राजनीति बुझ्छन् ? विद्यालयमा हुने राजनीतिक गतिविधि रोक्न विद्यालय, विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय तहमा रहेका संगठनहरु सचेत हुन जरुरी छ ।’
यता, माओवादीको माडी गाउँपालिका अध्यक्ष कमरेड वसन्तले खाजा खाने समयमा कार्यक्रम गरिएको दाबी गरे । सो कार्यक्रमबाट संगठन विस्तारसँगै लागुऔषध, बालविवाह, जुवातासविरुद्ध सचेतना फैलाइएको उनी बताउँछन् । उनका अनुसार केही ‘हनुमान’ हरुले आफ्नो कार्यक्रमलाई खिसीटिउरी गरेका हुन् ।
‘हामीले विद्यार्थीको पढाइ डिस्टर्ब गरेका छैनौं । केही हनुमानहरुले हाम्रो संगठनलाई विवादमा तान्न हल्ला फिजाएँ । हामीले संगठन विस्तारसँगै जनचेतनामूलक कार्यक्रम गरेका थियौं । अरु पार्टीका संगठनले विद्यालयमा जस्तोसुकै कार्यक्रम गर्दा पनि हुने, हामीले हाफटाइममा गरेको कार्यक्रमलाई चाँहि खिसीटिउरी गर्ने ? हामी अझैं यस्ता कार्यक्रम गछौं’,वसन्तले भने।
गत फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा रोल्पाको परिवर्तन गाउँपालिका–२ मा रहेको एक निजीसहित नौं वटै विद्यालयमा राजनीतिक कार्यक्रम गरिएको थियो । बालबालिकाहरुलाई युनिफर्ममै माओवादीको चुनावी झण्डा बोकाएर ‘जिन्दावाद’ को नारा लगाउँदै र्याली निकालेपछि चर्को विरोध भयो । अबोध बालबालिकालाई जबरजस्ती राजनीतिक कार्यक्रममा सहभागी गराएको भन्दै बाल अधिकारकर्मीहरुले आपत्ति जनाएका थिए ।
टिप्पणीहरू