प्रधानमन्त्री फकाउने, प्रचण्ड नमान्ने
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफल बिना सहमति टुंगिएको छ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भएको छलफलमा सहमति जुट्न नसकेको हो ।
भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरोध गरिरहेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले बौठक बोलाउनुभएको थियो । तर बैठकमा माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री लेखकले राजीनामा दिर्नैपर्ने अडान दोहोर्याउनुभयो ।
माओवादी सचेतक हितराज पाण्डेका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले ‘अब गृहमन्त्रीको विषयमा धेरै नअल्झिऔँ, सदनमा काम थुप्रिएको छ, मिलेर अघि बढाऔँ’ भन्नुभएको थियो । जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामासम्बन्धी अडानमा दायाँबायाँ नहुने बताउनुभयो । प्रचण्डको भनाई उद्धृत गर्दै भनिएको छ, ‘हामीले गृहमन्त्रीज्यूलाई दोषी भनिसकेका हैनौँ, उहाँको नाम आएकाले नैतिक जिम्मेवारी लिनुपर्छ मात्र भनेका हौँ । अहिले जुन विषय आएको छ, यसमा उहाँले आफैं अनुसन्धानलाई सजिलो बनाइदिन राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ मात्रै भनेका हौँ ।’
प्रतिनिधिसभाको भोलिको बैठकअघि विपक्षी दलहरुले बोलाएको छलफलमा थप निर्णय हुने बताइएको छ ।
टिप्पणीहरू