पूर्वराजालाई सिंहासनमा नराखेसम्म राजावादीहरुले विश्राम नलिने

पूर्वराजालाई सिंहासनमा नराखेसम्म राजावादीहरुले विश्राम नलिने

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा नफर्काएसम्म सडक संघर्षबाट पछि नहट्ने उद्घोषसहित आज काठमाडौँमा शक्ति प्रदर्शन गरेका राजवादीहरुले भोलि पनि आन्दोलन गर्ने बताएका छन् । नवराज सुवेदी नेतृत्वको ’राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनान्दोलन समिति’ को अगुवाइमा भएको आजको प्रदर्शन सकिएको छ । 

दिउँसो काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट निस्किएको जुलुस रत्नपार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा बोल्ने राजावादीहरुले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र नढलेसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै आजको प्रदर्शनलाई ‘कास्टिङ’ मात्र भएको बताए । भोलिदेखि आन्दोलन थप चर्काउन उनले कार्यकर्तालाई अपिल गरेका छन् । 

‘गणतन्त्रको जग कत्तिको कमजोर छ भन्ने आजको जनसागरले देखायो । एमालेको सरकारी खर्चमा भएको जुलुस र राजावादीको प्रदर्शनले जनमतसंग्रह गरेको हो’, उनले भने, ‘यो आन्दोलन पार्टी र संस्थाको होईन । नेपालका लागि नेपाली जनताले गरेको आन्दोलन हो सबै मिलेर सफल पारौँ ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आन्दोलन निरन्तर अघि बढ्ने बताएका छन् । उनले राजसंस्थालाई षड्यन्त्रमूलक ढंगले पाखा लगाइएको भन्दै प्रमुख राजनीतिक दलका नेताप्रति रोष प्रकट गरे । 

‘नेपाली जनताको आवाजलाई प्रमुख राजनीतिक दल भन्नेहरुले सुनोस् । जनताको भावना र आवाजलाई कुल्चने काम सह्य हुँदैन । राष्ट्रिय एकताको प्रतीक राजसंस्था हो । जनतासँग मिलेर प्रजातान्त्र स्थापना गर्ने राजसंस्था नै हो’, उनले भने, ’संविधानसभामा छलफल नगरी राजसंस्था पाखा लगाइयो । राजसंस्था पुनस्र्थापना गर्न जनआन्दोलनको पहिलो दिन हो आज ।’

गणतन्त्रले जनतालाई भ्रष्टाचार र कुतन्त्रबाहेक केही नदिएको दाबी गरेका थापाले सीमित नेताहरुले सिण्डिकेट गरेर लुटतन्त्र चलाएको आरोप पनि लगाए । बन्दुक बोकेर लड्नेहरु विदेशिन बाध्य भएको तर नेताहरु भने खर्बपति भएको उनको भनाइ थियो । 

उनले भोलि मध्यान्ह १२ बजे नाराजुलुससहित माइतीघर मण्डला र बिजुली बजारमा उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आजको सभामा शिवसेना नेपालका अनिल बाबा बस्नेतले पनि भाषण गरे । वाह्य शक्तिले गणतन्त्र थोपरेको भन्दै उनले विदेशीको दासत्व स्वीकार नगर्ने बताए । देशलाई हिन्दु राज्य कायम नगर्दासम्म थकाइ नमार्ने उनको उद्घोष थियो ।

राप्रपाका वयोवृद्ध नेता पशुपतिशमशेर जबरा पनि आज चर्कैसँग प्रस्तुत भएका थिए । उनले भने, ‘बहुमूल्य प्रजातन्त्रमा जनताले चुनिने र जनताको मतको कदर हुनुपर्छ । राष्ट्रपतिलाई म चुनौती दिन चाहन्छु सँधै यस्तै हुँदैन । दक्ष र इमान्दार मान्छेको देशमा आवश्यकता रहेको छ । जुन राजासहितको हिन्दु राज्य भएपछि मात्र पूरा हुनेछ ।’

देश भताभुङ्ग भएकाले सम्हाल्न राजा चाहिने अर्का राजावादी नेता डा. प्रकाशचन्द्र लोहनीको भनाइ रह्यो । सबै शक्तिलाई ठाउँ दिनुपर्ने उनको माग छ । ‘हाम्रो आस्थाको केन्द्र हिन्दु राष्ट्रसहितको राजतन्त्र आवश्यक छ । सबै शक्तिलाई ठाउँ दिउँ । र निष्पक्ष राज्यको परिकल्पना गरौँ’, लोहनीले भने, ‘देशमा पैसाको कमी छैन । मियो गतिलो नभएर मात्र हो ।’

यस्तै अवस्था रहिरहे जनता सँधै शान्तिपूर्ण रुपले प्रस्तुत नहुने भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

टिप्पणीहरू