बाख्रीको कापमा खसीको राजखानी
फोटो स्रोत : सामाजिक सञ्जाल ।
बारामा बाख्राको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने एक जना पक्राउ परेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा मुस्कान मासु पसल सञ्चालन गर्दै आएका मिश्री देवान पक्राउ परेका हुन् ।
हिजो दिउँसो सचेतना कार्यक्रमको लागि फिल्डमा खटिएका प्रहरीलाई एक युवतीले ‘त्यहाँ हेर्नुस् त बाख्राको शरीरमा खसीको राजखानी’ भन्दै जानकारी गराएकी थिइन् । लगत्तै युवतीले इशारा गरेको मासु पसलमा गएर चेकजाँच गर्दा बाख्राको मासुमा खसीको राजखानी जोडेर ग्राहकलाई झुक्याइएको भेटिएको इलाका प्रहरी कार्यालय जीतपुरका इञ्चार्ज वरिष्ठ असइ जेजे कार्कीले जानकारी दिए ।
उनका अनुसार पसल सञ्चालक देवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ । ‘बाख्रा काटेर सिंगै शरीर झुन्डाइएको रहेछ, तर त्यसमा राजखानी चाहिँ खसीको राजखानी जोडिएको थियो । झ्वाट्ट हेर्दा त्यो सिंगै खसी नै देखिने’, उनले भने, ‘कहिलेदेखि यस्तो कार्य चल्दै आएको थियो भन्नेबारे अनुसन्धान गरिरहेका छौँ, कानुनअनुसार कारबाही हुन्छ ।’
टिप्पणीहरू