यति एयरमाथि पार्सल चोरीको आरोप, प्रेम सञ्जेल रिसले आगो
आफूलाई भ्रष्टचारको कट्टर विरोधी बताउँदै बेला बेलामा चर्चामा आउने पूर्व निजामती कर्मचारी प्रेम सञ्जेलले यति एअरलाइन्समाथि पार्सल चोरीको आरोप लगाएका छन् ।
विराटनगरबाट यतिको उडानमा काठमाडौं पठाइएको पार्सलको कार्टुन फोरिएको उनले बताए । विराटगरबाट शनिबार पठाएको औषधि, लत्ताकपडा र उपभोग्य वस्तुहरुको पार्सलको कार्टुन च्यातेर केही सामान झिकिएकोे सञ्जेलको आरोप छ ।
विराटनगर ५, जामुनगाछीबासी उनले बिहान ८ बजे यती एयरको उडानमा पठाएको ५० हजार बराबरको सामानको पार्सल साँझ ८ बजे मात्र काठमाडौंमा आफन्तले पाएका थिए । तर कार्टुन च्यातिएको र केही समान हराएको अवस्थामा नातेदारले पार्सल पाएको खबर गरेका हुन् ।
‘सुरक्षित हुन्छ भनेर महंगो शुल्क तिरेर बिजुलीको तारले कसेर बाँधेको दुई वटा कार्टुन चोरी गर्ने नियतले च्यातेर फुटाएको पाइयो’ सञ्जेलले बताए । यतिमा भएको बदमासीबारे आमनागरिक र नियनकारी निकायलाई जानकारी गराइएको उनले भने । थप भन्छन्, ‘यस्तो अवस्था अरुले पनि भोगेका होलान् ।’
आफूले हल्ला गरेपछि विमान कम्पनीका कर्मचारीहरुले चोरिएको सामान मालबस्तु च्यातिएकै कार्टुनमा राखेर काठमाडौं पठाएर आफन्तको जिम्मा लगाएको पनि उनले बताए । यतिका विराटनगरस्थित स्टेसन म्यानेजर प्रेम कुँवरले घटना सार्वजनिक नगर्न अनुरोध गरेपनि आफूले जनतालाई सुसूचित गराएको दाबी गरे ।
विराटनगरको श्रम तथा रोजगार कार्यालयमा उपसचिव रहेका सञ्जेलले सरकारी सेवाबाट तीन वर्षअघि अवकाश पाएका हुन् । सञ्जेल नियमविपरित सरुवा गरिएकोमा दुई पटक कानुनी उपचारमा गएर अदालतबाट अन्तरिम आदेश ल्याएपछि थप चर्चामा आएका थिए ।
टिप्पणीहरू