निर्मला पन्त बलात्कार हत्याकाण्ड गिजोल्ने पत्रकार दोषी ठहर
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली इतिहासको सबैभन्दा डरलाग्दो र दर्दनाक घटना हो । यो एउटा यस्तो मुद्दा हो, जसलाई सल्टाउन प्रहरीलाई ७ वर्षसम्म पनि हम्मेहम्मे परिरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला २०७५ साउन १० गते महेन्द्रनगरस्थित साथीको घरबाट बेपत्ता भइ भोलिपल्ट अर्धनग्न अवस्थामा शव निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । सो घटनाले मुलुकमा ठूलो तरंग ल्यायो । हत्यारा खोज्न माग गर्दै पटकपटक जिल्लासहित काठमाडौं केन्द्रित आन्दोलन भए । आन्दोलनका क्रममा १५ वर्षीय किशोर सनी खुनाले ज्यान गुमाए । केही घाइते पनि भए । घटनामाथि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भयो । तर, कतैबाट केही पार लाग्न सकेन ।
स्थानीय पुरुष र अनुसन्धानमा खटिएका प्रहरीहरूकै डिएनए टेष्ट गरियो । सयौंसँग बयान लिइयो । एसपीदेखि डिएसपीसम्म कारबाहीमा परे । एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई त बर्खास्ती नै गरिएको थियो । पछि उनीहरूले अदालतबाट सफाइ पाए । प्रहरीले धेरै कोणबाट घटनामाथि अनुसन्धान गरिसकेको छ, यद्यपि सफलता हात पार्न सकेको छैन ।
सरकार फेरिएसँगै निर्मलाको बलात्कार र हत्या प्रकरण सतहमा आउँछ । तर, त्यत्तिकै सेलाउँछ । सो घटनापछि रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, रमेश लेखक गृहमन्त्री भए । यता, आईजीपी पनि पटकपटक फेरिए । सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धिरजप्रताप सिंह, वसन्त कुँवर र हाल दिपक थापा आइजीपी छन् ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्दिकरणअन्तर्गत भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रीको पदभार सम्हाल्दै निर्मलालाई न्याय दिलाएरै छोड्ने घोषणा गरेका थिए । रविले निर्मलाको मुद्दा उछालेर चर्चा बटुले तर दुई पटक मौका पाउँदासमेत माखो मार्न सकेनन् ।
पत्रकारलाई जेल
निर्मला बलात्कारपछि हत्या प्रकरणलाई ‘ट्वीस्ट एण्ड टर्न’ गर्दै समाचार लेख्ने र आन्दोलनको दिशा मोड्ने एक पत्रकारलाई थुनामा पठाउने आदेश भएको छ । ‘मानसखण्ड दैनिक पत्रिका’ का सम्पादक तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले गाली बेइज्जती मुद्दामा दोषी ठहर गरेको छ । नेकपा एमालेप्रति आस्था राख्ने उनले निर्मला प्रकरणमा दार्चुलाको शैल्यशिखर नगरपालिका–१८ स्थायी घर भएका एसपी डिल्लीराज बिष्टलाई मुछेर समाचार लेखिरहे ।
निर्मलाको बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका दिलिपसिंह बिष्ट ‘मेरो भाञ्जा हो, उसलाई नछोऊ’ भन्दै एसपी विष्टलाई म्यासेजसमेत पठाए । निर्मला प्रकरणमा जथाभावी समाचार लेखेबापत यसअघि पनि पक्राउ परेका उनीविरुद्ध एसपी बिष्टका छोरा किरणले मुद्दा दायर गरेका थिए ।
न्यायाधीश राजेन्द्रसिंह भण्डारीको एकल इजलासले जेठ १ गते वादीको दाबी पुग्ने फैसला गरेको छ । उनलाई एक महिना कैद र एक लाख रुपैयाँँ क्षतिपूर्तिको सजायँ सुनाइएको छ । त्यसैगरी, १० हजार रुपैयाँँ जरिवाना तिराउने आदेश भएको छ । उनी पक्राउ परिनसकेको अदालतका तहसिलदार नारायणदत्त ओझाले बताए । उनले भने, ‘एक महिना कैद, एक लाख रुपैयाँँ क्षतिपूर्ति र १० हजार रुपैयाँँ जरिवानाको फैसला भएको छ । उनी पक्राउ परिसकेका छैनन् । पुनरावेदनको समय हुन्छ, उच्च अदालत जान्छन् होला ।’
टिप्पणीहरू