दोहोरो नागरिकतामा उजुर दम्पच
दोहोरो नागरिकताधारी एक उपसचिवलाई अहिलेका एक विवादास्पद सचिवले एक लाख रकम लिएर त्यत्तिकै छोडिदिएको तथ्य बाहिरिएको छ । कुनै एक सर्वसाधारणले भूलवश, एकैपटक नेपालको दुइटा नागरिकता लिएको फेला परेमा ऊ ठाडै जेल जान्छ तर कुनै एक प्रशासकले एकै पटक एउटा हातमा विदेशको र अर्काे हातमा नेपालको नागरिकता लिनुलाई क्षम्य अपराध मान्न सकिन्न ।
यही मुलुकमा दुई थरी जन्ममिति भएको नागरिकता बोक्दा पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, उपप्रधानमन्त्रीदेखि प्रहरी र सेनाका हाकिमसम्म फेला परिसकेका छन् । तर, उच्च प्रशासक दाहिना हुँदा एक हातमा भारतको बिहार र अर्काे हातमा नेपालको नागरिकता लिएका उपसचिवको हकमा यो गम्भीर उजुरी छानबिन नगरी सचिवले च्यातेर फालिदिएको तथ्य हालै सार्वजनिक भएको छ ।
लामो समय सडकमा बसेका र भौतिक पूर्वाधार मन्त्रालयको सचिवबाट तानिएर राष्ट्रिय सतर्कता केन्द्रमा थन्क्याइएका रविन्द्रलाल श्रेष्ठकै अग्रसरतामा सडककै उपसचिवविरुद्ध परेको उजुरी छानविन प्रक्रिया अगाडि बढेको थियो । उनी पछि सचिव बनेर गएका सुरेश आचार्यले उक्त उजुरी च्यातेर फालेका हुन् । यसरी दोहोरो नागरिकता लिएको आरोप लागेका उपसचिव हुन्, रविन्द्रलाल दास । दास र परिवारले समेत दोहोरो नागरिकता लिएको भन्दै प्रम कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियारलगायत सरकारी निकायलाई गुहारिएको थियो । दासले बिहार खजौली ठेगानामा भारतीय नागरिकता लिएका छन् भने जिल्ला प्रशासन कार्यालय पर्साबाट समेत नेपाली नागरिकता लिएर उपसचिवस्तरको जागिर खाइरहेका छन् । अहिले उनी ठूलो बजेट खेलाउन पाउने पुष्पलाल मध्यपहाडी राजमार्गको कामु प्रमुख छन् ।
उजुरीमा माता इन्द्रकला, पिता नारायण र पत्नी माल्विकाले समेत जिप्रका पर्साबाटै नेपाली नागरिकता लिएको उल्लेख छ । उनैविरुद्धको उजुरी च्यातेर सचिव आचार्यले कुरा टुंग्याएको दास स्वयंले आफ्नो साथी सर्कलमा सगौरव सुनाउँदै हिँड्ने गरेका छन् । नागरिकताजस्तो संवेदनशील विषयलाई खेलाँची गर्ने सचिव आचार्य अहिले ऊर्जामन्त्री दीपक खड्काको साथमा छन् । ३५ वर्ष लामो जागिरे जीवनमा धेरै समय पर्यटन मन्त्रालयमा रहेर यती ग्रुपको ‘फेभर’ गर्दै आएका आचार्य एरोनटिकल इञ्जिनियर हुन् ।
अघिल्लो साता सचिव आचार्यसँगै भुटान पुगेका उपसचिव उड्दा उड्दै सरुवामा परे । जाँदा एउटा विभागबाट गएका थिए, फर्कंदा अर्काे विभागमा पुगे । मन्त्री खड्काको निर्णयअनुसार विद्युत् विकास विभागका सागरराज गौतमलाई ऊर्जा मन्त्रालयको वैदेशिक सहायता महाशाखा, वैदेशिक सहायताका सहसचिव जीवछ मण्डललाई बूढीगण्डकी, जल तथा ऊर्जा आयोग सचिवालयका डा. महेश्वर श्रेष्ठलाई नौमुरे आयोजना, मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई जल तथा ऊर्जा आयोगमा ल्याइएको छ । बूढीगण्डकीबाट ऊर्जा महाशाखामा ल्याइएका सहसचिव चिरञ्जीवी चटौतलाई वैदेशिक सहायता हेर्नु भनिएको छ । यसरी सरुवामा परेकामध्ये जिवछ सचिव आचार्यसँगै भुटान पुगेका हुन् । २÷३ महिना नबित्दै सरुवामा परेका सहसचिवहरूले पत्र बुझ्न नमानेपछि पत्र अलपत्र परेको बताइन्छ ।
टिप्पणीहरू